अमेरिकाको इन्डियानामा गोली चलाउने १९ बर्षको पूर्व कर्मचारी, मृतक ३ महिला र १ पुरुष भारतीय मूलका


प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार

अमेरिकाको इन्डियानापोलिसमा बिहिबार राती फेडेक्स भवनमा ८ जनाको ज्यान जानेगरी गोली चलाउने व्यक्ति १९ बर्षको फेडेक्सकै पूर्व कर्मचारी रहेको प्रहरीले जनाएको छ । घटनामा ४ जना घाइते भएका थिए भने बन्दुकधारीको पनि मृत्यु भएको थियो ।

ब्राण्डन होल नामको व्यक्ति कारबाट निस्केर फेडेक्स भवन परिसरमा अन्धाधुन्द गोली चलाउन थालेको थियो । सुरुमा पार्किङ लटमा गोली चलाएपछि उक्त व्यक्ति भवनभित्र छिरेको थियो ।

प्रहरी घटनास्थलमा स्थानीय समय अनुशार राती ११ बजे पुगेको थियो । त्यहाँ पुग्दा गोली लागेका व्यक्तिहरु ढलेका थिए भने अन्य व्यक्ति भागदौड गरिएका थिए । स्थीति निकै तनावग्रस्त थियो ।

मृतक ८ जनामध्ये ४ जनाको शव भवनबाहिर र ४ जनाको शव भवनभित्र भेटिएको थियो । मृतकहरु १९ बर्षदेखि ७४ बर्षसम्मका छन् । प्रहरीले शुक्रबार बेलुका सबैको नाम सार्वजनिक गरिसकेको छ । जसमा ४ जना भारतीय मूलका रहेका छन् । जसमा ३ जना महिला हुन् । उनीहरु शिख समुदायका रहेको जनाइएको छ । घाइते एकजना पनि भारतीय मूलका हुन् ।

प्रहरीहरु घटनास्थल पुग्नु अगाडि नै बन्दुकधारीले आफैलाई समेत गोली हानेको थियो । घटनामा बन्दुकधारीको पनि मृत्यु भएको छ ।

बन्दुकधारीले गत बर्षसम्म फेडेक्समा काम गरेको जनाइएको छ । उसकी आमाले गतबर्षको मे महिनामा छोराको मानसिक अवस्थाबारे रिपोर्ट गरेपछि प्रहरीले मानसिक स्वास्थ्य अवस्थाबारे कदम चाल्दै उसको घरबाट शटगन कब्जा गरेको थियो ।

उसको बेडरुममा भेटिएका सामानका आधारमा गतबर्षको अप्रिलमा एफबीआईएले उक्त व्यक्तिसँग अन्तरवार्ता पनि लिएको थियो । तर कुनै अपराधको घटना पुष्टी नभएपछि त्यतीबेला कब्जा गरिएको शटगन उसैलाई फिर्ता दिइएको थियो ।

यो अमेरिकामा एकमहिनाभित्रको ४५ औं आम नरसंहारको गोलीकाण्ड हो । ४ जना वा त्योभन्दा बढीको मृत्यु वा घाइते भएको घटनालाई आम नरसंहारका रुपमा लिइन्छ ।

अमेरिकामा आम नरसंहारका घटनाहरु बढिरहेको सन्दर्भमा राष्ट्रपति जो बाइडेनले गतसातामात्रै बन्दुक नियन्त्रणका लागि कार्यकारी आदेश जारी गरेका थिए । सिरियल नम्बर नभएका हातले बनाइएका वा आफै जडान गरिएका बन्दुकहरुमा कडाई गर्नका लागि कार्यकारी आदेश जारी गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com