अमेरिकाको इन्डियानापोलिसमा फेडेक्स भवनमा अन्धाधुन्द गोली, कम्तीमा ८ को मृत्यु


प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार

अमेरिकाको इन्डियानापोलिसमा बिहिबार राती अन्धाधुन्द गोली चलाउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । फेडेक्स भवनमा बन्दुकधारीले गोली चलाउँदा अरु कैयन घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ ।

बन्दुकधारीले आफैलाई समेत गोली हानेको छ भने घटनामा बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । समुदायका लागि अहिले उक्त धेरैमा कुनै थप जोखिम भने नभएको जनाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ । के कारणले गोली चलाइएको हो भन्नेबारे केही स्पष्ट छैन । प्रहरी घटनास्थलमा स्थानीय समय अनुशार राती ११ बजे पुगेको थियो ।

बन्दुकधारीले कम्तीमा १० राउण्ड गोली चलाएको घटनामा बचेका प्रत्यक्षदर्शीले बताएका छन् । फेडेक्सले घटनाबारे अनुसन्धानका लागि सम्बन्धित निकायलाई सघाइरहेको जनाएको छ ।

अमेरिकामा आम नरसंहारका घटनाहरु बढिरहेको सन्दर्भमा राष्ट्रपति जो बाइडेनले गतसातामात्रै बन्दुक नियन्त्रणका लागि कार्यकारी आदेश जारी गरेका थिए । सिरियल नम्बर नभएका हातले बनाइएका वा आफै जडान गरिएका बन्दुकहरुमा कडाई गर्नका लागि कार्यकारी आदेश जारी गरिएको थियो ।

बाइडेनको कार्यकारी आदेशमा डिपार्टमेन्ट अफ जस्टिसलाई रेड फ्ल्याग कानूनको मोडलका लागि निर्देशन समेत दिइएको थियो । जसले आफैलाई वा अरुलाई नोक्सान गर्ने जोखिममा रहेका व्यक्तिबाट अस्थायीरुपमा बन्दुक खोस्न सक्नेछ । त्यस्तै बन्दुक तस्करीका सन्दर्भमा बृहत रिपोर्टका लागि समेत बाइडेनले निर्देशन दिएका छन् ।

बाइडेनले अमेरिकामा भएका बन्दुकको हिंशाका घटनालाई अन्तर्राष्ट्रिय लज्जाको विषय भएको बताएका थिए । खासगरी बाइडेनले कार्यकारी आदेशमा कथित भूत बन्दुकका सन्दर्भमा कडाई गर्ने रुपरेखा अगाडि सारेका थिए ।

बन्दुकका लागि आवश्यक पर्ने सामाग्रीहरु किनेर घरमा नै बन्दुक जोड्ने र त्यस्ता बन्दुकमा कुनै सिरियल नम्बर नहुने भएकाले त्यस्ता बन्दुकहरु अमेरिकामा ब्यापक दुरुपयोग भएका छन् । त्यस्ता बन्दुकहरु कस्को नाममा थिए भन्ने ट्रयाक गर्न नसकिने भएकाले त्यस्ता बन्दुकबाट अपराधका घटनाहरु गराइदै आएका छन् । बन्दुकका लागि आवश्यक सामाग्री किन्नका लागि क्रेताको पृष्ठभूमि परीक्षण गर्न आवश्यक नभएकाले त्यस्ता सामाग्री अनलाइन वा पसलबाट सिधै किन्न सकिन्छ ।

बाइडेनले बन्दुक नियन्त्रण ऐन अन्तरगत बन्दुक बनाउने सामाग्रीहरुलाई पनि बन्दुकको रुपमा हेरिनुपर्ने बताएका छन् । बन्दुक बनाउन आवश्यक पर्ने सामाग्रीहरुको पनि सिरियल नम्बर हुनुपर्ने र त्यस्ता सामाग्री किन्न पृष्ठभूमि परीक्षण हुनुपर्ने बाइडेनले बताएका छन् । त्यसो भएमा त्यसरी बनाइएका बन्दुकहरु पनि ट्रयाक गर्न सकिनेछ ।

बाइडेनले संसदलाई बन्दुक सम्बन्धि बिल ल्याउनका लागि प्रोत्साहन गरेका छन् । अब प्राथना अति भएको र केही कदम चाल्ने बेला आएको बाइडेनले बताएका छन् । बन्दुकका सन्दर्भमा भएका छिद्रहरु बन्द गर्न र पृष्ठभूमि परीक्षण बढाउन प्रतिनिधिसभाबाट पारित भइसकेका तीनवटा बिलहरु सिनेटबाट पनि पारित गर्न बाइडेनले प्रोत्साहन गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com