मिनियापोलिसमा ‘ट्राफिक स्टप’मा प्रहरीको गोलीबाट अश्वेत युवाको मृत्युपछि तनाव, आपतकाल र कर्फयु
प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार
अमेरिकाको मिनियापोलिसमा प्रहरीको गोलीले एकजना अश्वेत युवाको मृत्यु भएपछि त्यहााका दुईवटा सहरका मेयरहरूले आपतकाल घोषणा गर्दै रात्रीकालिन कर्फयु आदेश जारी गरेका छन् । मिनियापलिस र सेन्ट पलका मेयरहरूले कर्फ्यु लगाएका हुन्।
२० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो। उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा भएको खिचातानीमा महिला प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको थियो ।
प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा व्याख्या गरेको छ । तर राइटको मृत्युपछि त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनले उग्र रूप लिन थालेपछि आपतकालिन अवस्था घोषणा गरिएको हो ।
जर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा यो घटना भएपछि मिनियापलिसमा प्रदर्शनहरु भएका हुन् ।
सोमवार बिहानको एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला प्रहरी अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको दृश्य देखाएका थिए। उक्त भिडिओमा राइटलाई हत्कडी लगाउन खोज्दा उनी जबरजस्ती आफ्नै कारमा पसेर बस्न खोजेको देखिएको छ ।
ती अश्वेत युवा राइट कारमा पसेको र कार गुडाउन थालेको भिडियोमा देखिएको छ । त्यसबेला प्रहरीले ‘मैले उसलाई गोली हानें’ भनेको भिडिओमा सुनिन्छ। गम्भीर घाइते भएका राइटको गाडी केही अगाडि पुगेर दुर्घटनाग्रस्त भएको थियो।
गोली चलाउने प्रहरी अधिकार किम पोटर भएको जनाइएको छ । उनी २६ बर्षदेखि प्रहरी सेवामा रहेको जनाइएको छ ।
ती अधिकारीले राइटलाई बेहोस बनाउन खोजेको तर गल्तीले गोली चलेको हुनसक्ने प्रहरीको भनाई छ । गोली हान्ने महिला अधिकारीलाई अहिले बिदामा पठाइएको छ।
राइटको मृत्युको खबरसँगै ब्रुकलिन सेन्टरमा आइतवार रातिदेखि नै आक्रोशित प्रदर्शनकारीहरूले प्रदर्शन सुरु गरेका हुन् । सयौँ प्रदर्शनकारीहरूले उनको नाम लिएर प्रहरी कार्यालयअघि धर्ना दिएका छन्।
प्रहरीले दङ्गा रोक्ने प्रयास गरेको छ र कतिपय प्रहरीका सवारीसाधनमा आक्रमण पनि भएको छ। प्रदर्शनकारीहरूले फुटपाथमा चकले लेख्नुका साथै मैनबत्ती बालेका थिए। पछि उनीहरूलाई अश्रुग्यास हानेर प्रहरीले तितरबितर पारेको थियो ।
त्यहाँ लुटपाट पनि मच्चिएको जनाइएको छ। मिनिआपोलिस र सेन्ट पलमा आइतवार र सोमवार रातिका लागि कर्फ्युको घोषणा गरिएको हो ।
Today I’m thinking about Daunte Wright and his family — and the pain, anger, and trauma that Black America experiences every day. While we await a full investigation, we know what we need to do to move forward: rebuild trust and ensure accountability so no one is above the law.
— President Biden (@POTUS) April 12, 2021
राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहारलाई दुखद भनेका छन् भने लुटपाट मच्चाउने कार्यको कुनै पनि औचित्य नभएको बताएका छन् ।





