२.३ ट्रिलियनको पूर्वाधार खर्च योजनामा चौथो राहत चेक समेट्न बाइडेनलाई सांसदहरुको आग्रह
प्रकाशित मिति : चैत्र २८, २०७७ शनिबार
अमेरिकी सांसदहरुले राष्ट्रपति जो बाइडेनलाई अर्को चरणको राहत चेकका लागि समर्थन जनाउन आग्रह गरेका छन् । ७५ जनाभन्दा बढी सांसदहरुले चौथो चरणको राहत चेकका लागि समर्थन जनाउन बाइडेनसमक्ष आग्रह गरेका हुन् ।
महामारी समाप्त नहुँदासम्म नियमित रुपमा राहत चेक पठाउनुपर्ने र अहिले बाइडेनले अगाडि सारेको २ दशमलव ३ ट्रिलियनको पूर्वाधार खर्च योजनामा नै अर्को चरणको राहत चेक समेट्न प्रोत्साहन गरिएको छ । अर्बन बुकिङ ट्याक्स पोलिसी सेन्टरको विश्लेषण अनुशार चौथो चरणको राहत चेकले अमेरिकामा ७ मिलियन भन्दा बढीलाई गरिबीबाट माथि उठाउन मद्दत गर्नेछ ।
मार्चमा पनि बर्नी स्याण्डर्स, एलिजाबेथ वारेन लगायतका १० जना प्रगतिशिल सिनेटरहरुले चौथो चरणको राहत चेकका लागि बाइडेनलाई प्रोत्साहित गरेका थिए । मार्चको अन्तिममा पनि २१ ज्ना डेमोक्रेटिक सांसदहरुको टोलीले अर्को चरणको राहत चेकका लागि आग्रह गरेको थियो ।

यसैबीच सिनेटमा नीति नियमका विज्ञ पार्लियामेन्टेरियन एलिजाबेथ म्याक्डोनहबाट डेमोक्र्याट्सहरुले फिलिबस्टर विना नै सामान्य बहुमतबाट बजेट प्रकृया अपनाएर अर्को बिल पारित गर्नसक्ने निर्धारण गरेकाले सिनेटमा अब डेमोक्र्याट्सले रिपब्लिकनको सहमति विना नै ५१ मतले यस्तो बिल पारित गर्नसक्नेछन् ।
तेश्रो चरणको राहत चेक समेटिएको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेज पनि बजेट प्रकृयाबाट पारित गरिएको थियो । सिनेटबाट बिल पारित गर्नका लागि फिलिबस्टर ६० भोटको आवश्यकता पर्ने भएपनि बजेट प्रकृयाबाट पारित गर्दा सामान्य बहुमतबाट पारित गर्न सकिन्छ । सिनेटमा ५० सिट डेमोक्र्याट्सको रहेको अवस्थामा उपराष्ट्रपतिले टाइब्रेक गर्नसक्ने भएकाले यो प्रकृयाबाट अगाडि बढ्दा रिपब्लिकनको समर्थन आवश्यक पर्दैन ।

तर यो प्रकृयाबाट नीतिगत बिलहरु पारित गर्न भने सकिदैन । ट्याक्स र खर्चबारेका बिलहरुमात्र बजेट प्रकृयाबाट पारित गर्न सकिन्छ । संसदीय बजेट ऐन १९७४ को सेक्सन ३०४ को व्याख्या गर्दै अन्य बिलहरु पनि बजेट प्रकृयाबाट सामान्य बहुमतले पारित गर्न सकिने निर्धारण गरिएको हो ।
यसैबीच आईआरएसले विगतमा उपयुक्त राहत चेकको रकम नपाएकाहरुलाई रकम थपेर पठाउन सुरु गरेको छ । विगतमा कुनै गल्तीले सानो रकम पाएकाहरुलाई आईआरएसले बाँकी रकम थपेर पठाउन सुरु गरेको छ । उक्त रकम बैंक खातामा वा हुलाकमार्फत पठाउन सुरु गरिएको छ ।
आइआरएसले सन् २०२० को ट्याक्स फाइललाई प्रकृयामा लगेपछि विगतमा कम रकम पाएकाहरुलाई रकम थपेर पठाउन सुरु गरेको हो । उदाहरणका लागि सन् २०२० मा जन्मेको बच्चालाई तेश्रो चरणको राहत चेक नपठाइएको भएमा ट्याक्स फाइल प्रकृयामा लगेपछि उक्त रकम पनि आईआरएसले पठाउनेछ । त्यस्तै आम्दानी वा डिपेण्डेन्टका सन्दर्भमा आएको परिवर्तनका कारण थप रकम पाउन योग्य भएमा पनि आईआरएसले आगामी साताहरुमा नै पठाउने भएको छ ।





