सिनेटमा अब डेमोक्र्याट्सले रिपब्लिकनको सहमति विना ५१ मतले कैयन बिल पारित गर्नसक्ने


प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार

सिनेटमा अब डेमोक्र्याट्सले रिपब्लिकनको सहमति विना नै ५१ मतले कैयन बिल पारित गर्नसक्ने भएका छन् । सोमबार राती सिनेटमा नीति नियमका विज्ञ पार्लियामेन्टेरियन एलिजाबेथ म्याक्डोनहबाट डेमोक्र्याट्सहरुले फिलिबस्टर विना नै सामान्य बहुमतबाट बजेट प्रकृया अपनाएर अर्को बिल पारित गर्नसक्ने निर्धारण गरिएको हो ।

संसदीय प्रकृया र सिनेटमा रहेका नियमहरुको व्याख्या गर्ने आधिकारिक सल्लाहकारलाई पार्लियामेन्टेरियन भनिन्छ । एलिजाबेथ म्याक्डोनह सन् २०१२ देखि सिनेटमा पार्लियामेन्टेरियन हुन् । सिनेटमा बहुमतप्राप्त दलको नेताको तजविजमा पार्लियामेन्टेरियन तय भएको हुन्छ ।

१ दशमलव ९ ट्रिलियनको राहत प्याकेज पनि बजेट प्रकृयाबाट पारित गरिएको थियो । सिनेटबाट बिल पारित गर्नका लागि फिलिबस्टर ६० भोटको आवश्यकता पर्ने भएपनि बजेट प्रकृयाबाट पारित गर्दा सामान्य बहुमतबाट पारित गर्न सकिन्छ । सिनेटमा ५० सिट डेमोक्र्याट्सको रहेको अवस्थामा उपराष्ट्रपतिले टाइब्रेक गर्नसक्ने भएकाले यो प्रकृयाबाट अगाडि बढ्दा रिपब्लिकनको समर्थन आवश्यक पर्दैन ।

तर यो प्रकृयाबाट नीतिगत बिलहरु पारित गर्न भने सकिदैन । ट्याक्स र खर्चबारेका बिलहरुमात्र बजेट प्रकृयाबाट पारित गर्न सकिन्छ । संसदीय बजेट ऐन १९७४ को सेक्सन ३०४ को व्याख्या गर्दै अन्य बिलहरु पनि बजेट प्रकृयाबाट सामान्य बहुमतले पारित गर्न सकिने निर्धारण गरिएको हो ।

अब डेमोक्र्याट्सहरुले २ ट्रिलियनको पूर्वाधार तथा रोजगार प्याकेज बजेट प्रकृया अपनाएर पारित गर्ने देखिएको छ । त्यस्तै कर्पोरेट ट्याक्स दर २८ प्रतिशत बनाउने प्रस्ताव पनि यसमा समावेश गरिने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com