५ सय मिलियन फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरणहरु ह्याकरका वेवसाइटबाट सार्वजनिक


प्रकाशित मिति : चैत्र २२, २०७७ आईतबार

५ सय मिलियन फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरणहरु ह्याकरहरुले प्रयोग गर्ने वेवसाइटमा सार्वजनिक गरिएको छ । उक्त विवरणमा फेसबुक प्रयोगकर्ताका फोन नम्बर लगायतका व्यक्तिगत विवरणहरु रहेको जनाइएको छ ।

ह्याक गरिएका व्यक्तिगत विवरणमा अमेरिकामा रहेका ३२ मिलियन प्रयोगकर्ताका, बेलायतमा रहेका ११ मिलियन र भारतमा रहेका ६ मिलियन प्रयोगकर्ताका विवरण रहेका छन् । पूरै नाम, स्थान, जन्ममिति, इमेल ठेगाना, फोन नम्बर र वैवाहिक स्थीति लगायतका विवरणहरु समेत ह्याकरहरुले सार्वजनिक गरिदिएका छन् ।

यो ह्याकको बारेमा पहिलोपटक इन्साइडरले खबर प्रकाशित गरेको थियो । फेसबुकका प्रवक्ता एन्डी स्टोनले भने ह्याक गरिएका विवरणहरु सन् २०१९ मा रिपोर्ट गरिएका पूराना तथ्यांकहरु रहेको तथा आफूहरुले यो कुरा पत्ता लगाएर सन् २०१९ को अगस्तमा नै समस्या समाधान गरिसकेको बताएका छन् । फेसबुकले प्रभावित भएका प्रयोगकर्ताहरुलाई यसबारे कुनै जानकारी दिए नदिएको केही बताएको छैन ।

सन् २०१९ मा नै कम्पनीले फेसबुक र इन्स्टाग्राममा तेश्रो व्यक्तिले प्रयोगकर्ताका फोन नम्बरमा सिधै पहुच कायम गर्न सक्ने क्षमतालाई हटाएको प्रवक्ताले बताएका छन् । सार्वजनिक भएका तथ्यांकहरु सन् २०१९ कै भएपनि ह्याकरहरुका लागि उपयोगी हुनसक्ने र उनीहरुले दुरुपयोग गर्नसक्ने आंशका व्यक्त गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com