न्युयोर्कमा कागजपत्रविहिनलाई २१ महिनाको ४६ हजार डलरसम्म दिन सांसद र गभर्नरबीच छलफल
प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार
न्युयोर्कमा कागजपत्रविहिनलाई समेत बेरोजगारी विमा रकम उपलब्ध गराउनका लागि राज्यका सांसदहरु र गभर्नर एन्ड्रयु कुमोबीच २ दशमलव १ बिलियन फण्डबारे छलफल भएको छ । सहमति भएमा यो फण्ड अन्तरगत केही व्यक्तिले गतबर्षको मार्चदेखि योबर्षको मार्चसम्म २८ हजार डलरसम्मको सहायता प्राप्त गर्नेछन् । र गतबर्षको मार्चदेखि आगामी डिसेम्बरसम्म काम गुमाउनेले ४६ हजार डलरसम्म प्राप्त गर्न सक्नेछन् ।
यो प्रस्ताव दुईसाता अगाडि नै न्युयोर्क राज्यका दुबै सदनमा पेश गरिसकिएको छ । संघीय सहायता रकम प्राप्त गर्न अयोग्य कागजपत्रविहिन र हालै जेलबाट छुटेकाहरुलाई समेत राहत प्रदान गर्ने यो प्रस्ताव पारित गराउनका लागि कुमोले सांसदहरुसँग छलफल गरेका हुन् ।

महामारीबाट प्रभावित भएका तर बेरोजगारी विमा लगायत कुनै पनि प्रकारका राहत प्राप्त नगरेका कथित छुटाइएका कामदारहरुलाई राहतका लागि ३ दशमलव ५ बिलियन डलर छुट्याउनुपर्ने आप्रवासी अधिकारका पक्षधरहरुको माग रहेको छ । यो प्रस्ताव पारित भएमा न्युयोर्कमा २ लाख ७५ हजार भन्दा धेरैलाई फाइदा पुग्नेछ । जसमध्ये न्युयोर्क सिटीमामात्र झण्डै १ लाख ७३ हजार छन् ।
बेरोजगारी विमा रकम वा संघीय सहायताले नसमेटेकाहरु न्युयोर्कमा १ लाख ८७ हजार कागजपत्रविहिन कामदारहरु र ८७ हजार हालै जेलबाट छुटेकाहरु रहेका छन् । उनीहरुलाई प्रदान गरिने रकम साप्ताहिक झण्डै ५ सय वा संघीय तथा राज्यको बेरोजगारी विमा रकमजस्तै गरेर हिसाब गरिनेछ ।

गतबर्षको मार्चपछि २४ हप्ताका लागि बेरोजगार भएको अनुमान गरेर उनीहरुलाई रकम प्रदान गरिनेछ । यसरी रकम प्रदान गर्दा औषतमा एकजनाले १२ हजार ६ सय डलरसम्म पाउने अपेक्षा गरिएको छ । महामारीको पूरैबर्ष बेरोजगार भएकाहरुले २८ हजार ६ सयसम्म प्राप्त गर्न सक्नेछन् । त्यसपछि सन् २०२१ को अप्रिलदेखि डिसेम्बरसम्म बेरोजगार भएको खण्डमा थप १७ हजार ५ सयसम्म प्राप्त गर्नेछन् ।





