कोरोनाबाट आफन्त गुमाएका न्युयोर्कबासीले अप्रिल १२ बाट ९ हजार डलरसम्म पाउनसक्ने
प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार
कोरोनाबाट आफन्त गुमाएका न्युयोर्कबासीले ९ हजार डलर पाउनसक्ने डेमोक्रेटिक सांसदहरु चक शुमेर र अलेक्जिेन्ड्रिया ओकासियो कोर्टेजले जनाएका छन् । आफन्तको कोरोनाबाट मृत्यु सम्बन्धित अन्य खर्च र दाहसंस्कारको खर्चबापत न्युयोर्कबासीहरुले संघीय सरकारबाट अबको केहीदिनमा नै उक्त रकम प्राप्त गर्नसक्ने भएका छन् ।

सांसदहरु चक शुमेर र अलेक्जिेन्ड्रिया ओकासियो कोर्टेजले महिनौंदेखि दाहसंस्कार खर्चको क्षतिपूर्तिका लागि लविङ गर्दै आएका थिए । संघीय आपतकालिन व्यवस्थापन एजेन्सीले अप्रिल १२ बाट यो कार्यक्रम सुरुवात गर्ने वचन दिएको सांसदहरुले बताएका छन् । कार्यक्रम सुरु भइसकेपछि आवेदकहरुले फेमाको नयाँ हटलाइन नम्बर ८४४ ६८४ ६३३३ मा फोन गर्नसक्ने जनाइएको छ ।

त्यसपछि मृत्यु प्रमाणपत्र र अन्य खर्चका रिसिप्टहरु बुझाउन सकिनेछ । सबै कागजात बुझाएपछि उनीहरुले ९ हजारडलरसम्म प्राप्त गर्नसक्नेछन् । न्युयोर्कमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढ्दा दाहसंस्कारका लागि निकै महँगो शुल्क तिर्नुपरेको थियो ।

यो कार्यक्रम अन्तरगत न्युयोर्कका लागि २६० मिलियन डलर छुट्याइएको छ । आवेदकको आम्दानीको कुनै पनि मापदण्ड नभएकाले जतिसुकै आम्दानी हुनेहरुले पनि रकम पाउन सक्नेछन् । झण्डै ५० हजार न्युयोर्कबासीका लागि पुग्नेगरी रकम छुट्याइएको छ । सबै कागजातहरु र खर्चका रिसिप्टहरु जुटाएरमात्र आवेदन दिन सुझाव दिइएको छ ।
रकम प्राप्त गर्नका लागि आवेदकहरु अमेरिकी नागरिक, कानुनी स्टाटसमा रहेको, शरणार्थी स्टाटसमा रहेको वा गैरनागरिक राष्ट्रवासी हुनुपर्नेछ । यदि कागजपत्रविहिन व्यक्तिका तर्फबाट दाहसंस्कारको खर्च बेहोरिएको छ भने परिवारले घरमा कानुनी स्टाटसमा रहेको व्यक्तिका तर्फबाट खर्चको विवरण पेश गर्नका लागि काम गर्नुपर्नेछ ।
न्युयोर्कमा कोरोना संक्रमणबाट झण्डै एकदर्जन नेपालीहरुको ज्यान गइसकेको छ । पछिल्लोपटक सिन्धुपाल्चोकका एकजना नेपालीको कोरोना संक्रमणबाट उत्पन्न जटिलताका कारण मृत्यु भएको थियो । मृत्यु हुने बेलामा भने उनको कोरोना नेगेटिभ देखिएको थियो ।





