न्युयोर्कमा यसरी प्राप्त गर्नुहोस् भ्याक्सिन पासपोर्ट
प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार
अमेरिकामा लागु भ्याक्सिन पासपोर्ट ।
न्युयोर्कमा अमेरिकाकै पहिलो भ्याक्सिन पासपोर्ट सुरुवात गरिएको छ । न्युयोर्कबासीहरुले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको वा हालै कोरोना परीक्षण गर्दा नेगेटिभ भेटिएको प्रमाणको सहितको कोड फोनमा तान्न वा प्रिन्ट गर्न सक्छन् ।
यो पासपोर्ट मेडिसन स्क्वायर गार्डेन जस्ता ठूला कार्यक्रमस्थलमा प्रवेश गर्नका लागि उपयोगी हुनेछ । कैयन कार्यक्रममा जानका लागि यो पासपोर्टको प्रयोग गरिने भएको छ । विवाह भोज वा अन्य जमघटमा उपस्थीत हुनका लागि समेत यो विधि प्रभावकारी हुने ठानिएको छ ।

यो एप्लीकेशन राज्यबाट रकम प्रदान गरेर निर्माण गरिएको हो भने विजनेश, भ्याक्सिन रेकर्ड भएका कुनै पनि व्यक्ति र कोरोना परीक्षण गरेका व्यक्तिका लागि निशुल्क उपलब्ध गराइएको छ । विमानमा चढ्दा बोर्डिङ पासको जस्तै क्युआर कोड स्क्यान गरेर व्यक्तिको कोरोना सम्बन्धित स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकिने भएको छ ।
नाम, जन्ममिति, जिपकोड र केही परिचय प्रमाणि गर्ने प्रश्नहरुको जवाफ दिएर यो पास एप्लीकेशन डाउनलोड गर्न सकिन्छ । तथ्यांक राज्यको भ्याक्सिन रजिष्ट्रीबाट उपलब्ध हुनेछ भने परीक्षणको तथ्यांक प्रमाणित परीक्षण कम्पनीहरुबाट उपलब्ध हुनेछ ।

आईबीएमको डिजिटल स्वास्थ्य पास प्लेटफर्म ब्लकचेक प्रविधिबाट बनाइएको हो । यसमा व्यक्तिगत स्वास्थ्य सुचनाहरुमा कुनै निजी विजनेश वा आईबीएमको पहुच हुनेछैन । त्यसैले यो पासलाई सुरक्षित मानिएको छ ।
यो पासको व्यवस्था पछि भ्याक्सिन लगाएकाहरुले सीडीसीको कार्ड बोकेर हिड्नु नपर्ने भएको छ । त्यस्तै कार्ड जालजासीको समेत समस्या हुनेछैन भने व्यक्तिलाई आफ्नोबारे प्रमाणित गर्न झन्झट समेत हुनेछैन ।
आईओएसमा डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला ।
एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला ।
पास डाउनलोड गर्न मोडेर्ना र फाइजरको दोश्रो डोज लगाएको १४ दिन र जोन्सन एण्ड जोन्सनको डोज लगाएको १४ दिन पूरा भइसकेको हुनुपर्नेछ ।





