न्युयोर्कमा मनोरञ्जनका लागि गाँजालाई बैधता दिने सहमति
प्रकाशित मिति : चैत्र १२, २०७७ बिहीबार
न्युयोर्क राज्यका सांसदहरु मनोरञ्जनका लागि गाँजालाई बैधता दिनेमा सहमत भएका छन् । राज्यको सामाजिक र आर्थिक भलाईका लागि गाँजालाई बैधता दिनु अत्यावश्यक भएको गभर्नर एन्ड्रयु कुमोले बताएलगत्तै सांसदहरु सहमतिमा पुगेका हुन् ।
यो सुधारको मापदण्ड आगामी अप्रिल १ सम्म पेश गरिसक्नुपर्ने राज्यको बजेटमा कानूनको अंशका रुपमा समावेश गरिनेछ । संसदबाट औपाचारिक रुपमा पारित भएपछि यो नियम कार्यान्वयनमा आउने भएको छ ।

सहमति अनुशार २१ बर्षका माथिका व्यक्तिलाई न्युयोर्कमा मनोरञ्जनका लागि ३ आउन्स सम्म गाँजा किन्न र बोकेर हिड्नमा छुट दिइनेछ । तर गाँजाको किनबेच भने लाइसेन्सप्राप्त वितरकबाट गर्नुपर्ने जनाइएको छ । छिटोमा सन् २०२२ को डिसेम्बरबाट गाँजामा छुट दिइने भएको छ ।
मनोरञ्जनका लागि गाँजा सेवन गर्नेहरुले घरमा ६ वटा बोटसम्म गाँजा रोप्न पाउनेछन् । एउटा परिवारले १२ वटा बोटसम्म गाँजा रोप्न पाउनेछ । तर न्युयोर्कमा वितरकले गाँजा बेच्न सुरु गरेको १८ महिनापछिमात्र रोप्न पाउने प्रावधान ल्याउन लागिएको जनाइएको छ ।

योजना अनुशार राज्यको कर गाँजामा ९ प्रतिशत लगाइनेछ । जस अनुशार बर्षमा राज्यलाई ३ सय मिलियन आम्दानी हुने अनुमान गरिएको छ । संकलन गरिएको ४० प्रतिशत रकम स्कुलहरुमा सहायता, ४० प्रतिशत सामाजिक इक्विटी अनुदान र २० प्रतिशत उपचार तथा सार्वजनिक शिक्षामा खर्च गरिनेछ ।






