सामान्य लक्षणमै खाएर कोरोना संक्रमण निको पार्ने औषधीको परीक्षण गर्दै फाइजर
प्रकाशित मिति : चैत्र ११, २०७७ बुधबार
औषधी उत्पादक कम्पनी फाइजरले मुखबाट खान मिल्ने कोरोना संक्रमण निको पार्ने औषधीको परीक्षण गर्ने घोषणा गरेको छ । परीक्षण सफल भएमा उक्त एन्टीभाइरल उपचार कोरोनाबिरुद्ध लड्ने यसप्रकारको पहिलो हुनेछ ।
पहिलो चरणको परीक्षण स्वस्थ्य बयस्क अमेरिकनहरुमा गरिने कम्पनीले प्रेस वक्तब्यमार्फत जनाएको छ । कम्पनीले नशाबाट दिनमिल्ने एन्टीभाइरल औषधीको पनि परीक्षण गर्दैछ । हेपाटाइटिस सी र एचआईभीको उपचारमा प्रयोग हुनेजस्तै पद्धतीमा भर परिने जनाइएको छ ।

कोरोनाको पहिलो लक्षण देखिनासाथ खान मिल्नेगरी औषधी परीक्षण गरिदैछ । यो औषधी खानका लागि अस्पतालमा भर्ना हुनुपर्नेछैन । कोरोना संक्रमण हुन नदिन भ्याक्सिन र संक्रमण भएपछि औषधीको माध्यमबाट कोरोनाको सामना गर्न आवश्यक भएको फाइजरका बरिष्ठ बैज्ञानिक मिकेल डोल्सटेनले बताएका छन् ।
अहिले अमेरिकामा कोरोनाबिरुद्धका तीनप्रकारका भ्याक्सिनहरु उपलब्ध छन् । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एक डोज लगाए पुग्छ भने फाइजर र मोडेर्नाका भ्याक्सिन दुईदुई डोज लगाउनुपर्छ ।
अमेरिकामा अहिलेसम्म १३० मिलिडन डोज भ्याक्सिन लगाइसकिएको छ । ८५ मिलियनले भ्याक्सिन लगाइसकेका छन् भने ४६ मिलियनले पूरै डोज भ्याक्सिन लगाइसकेका छन् । अमेरिकामा कुल जनसंख्याको २५ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् ।






