आक्रमणकारीको प्रतिरोध गर्ने एसियन हजुरआमाले जम्मा भएको १ मिलियन डलर समुदायलाई दिने
प्रकाशित मिति : चैत्र ११, २०७७ बुधबार
आफ्ना लागि गोफण्डमीमा जम्मा भएको झण्डै १ मिलियन डलर आक्रमणकारीको प्रतिरोध गर्ने एसियन हजुरआमाले एसियन अमेरिकन समुदायलाई दिने इच्छा व्यक्त गरेको उनका नातीले बताएका छन् । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा आक्रमणकारीको प्रतिरोध गर्ने ७५ बर्षकी एसियन हजुरआमा जिया जेन जीका लागि गोफण्डमीमा झण्डै १ मिलियन डलर संकलन भएको छ ।
उनले यस्तो प्रकारको विभेद सहन नहुने र मृत्युसम्म पनि विभेदबिरुद्ध लड्नुपर्ने बताएका उनका नाती जोन चेनले गोफण्डमीमा लेखेका छन् । उनका नाती चेनले मेडिकल बिलका लागि ५० हजारको लक्ष्य राखेर गोफण्डमी सुरु गरेपनि ब्यापक सहयोगका कारण झण्डै १ मिलियन डलर संकलन भएको हो । त्यसपछि हजुरआमाको योजना अनुशार रकम खर्च गर्ने योजना बदलेर समुदायलाई दिइने जनाइएको छ ।

नाती चेनका अनुशार हजुरआमाले डोनेशनमा जम्मा भएको रकम विभेदबिरुद्ध लड्नका लागि एसियन अमेरिकन समुदायलाई दिने बताएकी छिन् । विभेदको विषय आफूलाई परेको भन्दा निकै ठूलो रहेकाले आफ्ना लागि जम्मा भएको रकम विभेदबिरुद्ध लड्नमा समुदायलाई दिनुपर्नेमा हजुरआमाको भनाई छ ।
अहिले आक्रमणमा परेकी हजुरआमा मानसिक र शारीरिक अवस्थामा सुधार आएको जनाइएको छ । साथै उनको सुन्निएको आँखा पनि निको हुँदै गएको जनाएको छ । आक्रमणकारीले अनुहारमा प्रहार गर्दा ७५ बर्षकी जिया जेन जीको अनुहार र आँखामा चोट लागेको थियो । अनुहार सुन्निएको थियो भने हेर्नमा समेत समस्या भएको थियो ।

३९ बर्षका पुरुषले आक्रमण गरेपछि ती हजुरआमाले काठको टुक्राले हिर्काएर प्रतिरोध गरेकी थिइन् । हजुरआमाको लाठीले घाइते आक्रमणकारीलाई हतकडीसहित स्ट्रेचरमा राखेर अस्पताल लगिएको थियो । प्रतिरोधमा आक्रमणकारी रक्ताम्मे भएका थिए ।
ट्राफिक लाइटमा बाटो काट्न कुरिरहेको बेलामा उक्त व्यक्तिले अचानक आएर अनुहारमा हानेका थिए । त्यसपछि उनले पनि काठको टुक्रा उठाएर आक्रमणकारीलाई हानेकी थिइन् ।






