के चौथो चरणको राहत चेक पनि आउला ?
प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार
आईआरएसले तेश्रो चरणको राहत चेक पठाइरहँदा कतिपयले चौथो चरणको राहत चेक पनि प्राप्त हुनेबारे जिज्ञासा राखिरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा चौथो चरणको राहत चेक समावेश छैन तर कतिपय डेमोक्रेटिक सांसदहरु चौथो चरणको राहत चेक समेत पठाउनुपर्ने पक्षमा रहेका छन् ।
कम्तीमा ५० जना डेमोक्रेटिक सांसदहरु तेश्रो चरणको राहत चेकमात्र प्रयाप्त नहुने पक्षमा छन् । हालै प्रतिनिधिसभाका ५० जना सांसदहरुले राष्ट्रपतिलाई पत्र लेखेर एकपटकमात्र राहत चेक पठाउनुको साटो बारम्बार राहत चेक पठाउने बिलका लागि अनुरोध गरेका थिए ।

उनीहरुले तेश्रो चरणको राहत चेकले अस्थायी रुपमा लाइफलाइन प्रदान गर्ने भएपनि त्यसपछि कैयन परिवारहरु आधारभूत आवश्यकताका लागि समेत समस्यामा पर्ने बताएका थिए । आर्थिक र स्वास्थ्य संकटका बेलामा तेश्रो चरणको राहत चेकमात्र प्रयाप्त नहुने उनीहरुको धारणा थियो । उक्त पत्रको नेतृत्व मिनेसोटाका सांसद इलहान ओमरले गरेका थिए ।
सिनेटमा पनि ११ जना सांसदहरुले बारम्बार राहत चेक पठाउने पक्षमा दबाव दिएका थिए । तेश्रो चरणको राहत चेकमात्र प्रयाप्त नहुने तर्क गर्दै महामारीका बेलामा बारम्बार राहत चेक पठाउनुपर्ने उनीहरुको भनाई थियो ।

भविश्यमा चौथो चरणको राहत चेक समेत सम्भव भएको विश्लेषण गरिएको छ । तर त्यसका लागि भने रिपब्लिकन सांसदहरु पनि सहमत हुन जरुरी छ । तेश्रो चरणको राहत चेक समेटेको प्याकेज फिलिबस्टरलाई बाइपास गरेर बजेट प्रकृयाबाट पारित गरिएको थियो । तर बजेट प्रकृया बारम्बार गर्न नसकिने भएकाले अर्को चरणको राहत चेकका लागि सिनेटमा फिलिबस्टर ६० भोटको आवश्यकता रहेको छ ।






