डाका र टीपीएसबाहकलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने बिल प्रतिनिधिसभाबाट पारित


प्रकाशित मिति : चैत्र ५, २०७७ बिहीबार

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट डाका र टीपीएसबाहकलाई नागरिकताको बाटोमा लैजाने महत्वपूर्ण अध्यागमन बिल पारित भएको छ । बिलका पक्षमा २२८ मत खसेको छ भने विपक्षमा १९७ मत खसेको छ । ९ जना रिपब्लिकन सांसदहरुले बिलका पक्षमा मतदान गरेका छन् ।

यो बिल ११ मिलियनलाई कागजपत्र दिने खाकासहित राष्ट्रपति जो बाइडेनले अगाडि सारेको अमेरिकी नागरिकता ऐन २०२१ बिलभन्दा फरक हो ।

दुबै सदनबाट यो बिल पारित भएमा  बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिन र टीपीएसबाहकलाई नागरिकताको बाटो खुल्नेछ । यद्यपी सिनेटबाट बिल पारित गर्न भने सहज छैन । सिनेटबाट यो बिल पारित हुनका लागि फिलिबस्टर ६० मतको आवश्यकता पर्छ ।

अमेरिकन ड्रिम एण्ड प्रमिस एक्टमा टीपीएस र बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाकाले समेटेकाहरुलाई ग्रिनकार्डको बाटोमा लैजाने उल्लेख छ । यो बिल सिनेटबाट पनि पारित भएमा झण्डै १० हजार नेपाली टीपीएसबाहकहरुलाई फाइदा पुग्नेछ । डाकाले समेटेका नेपालीहरु भने एकसयभन्दा पनि कम छन् ।

त्यस्तै अर्को फार्म वर्कफोर्स मोर्डनाइजेशन एक्टमा कृषि कामदारहरुलाई कानुनी स्टाटसका लागि बाटो बनाउने उल्लेख छ । विगत २ बर्षमा कम्तीमा १८० दिन काम गरेका कृषि कामदारहरुलाई यो सुविधा प्राप्त हुनेछ । यो श्रेणीमा पर्ने नेपालीहरु रहेको कुनै सार्वजनिक रेकर्ड छैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com