ट्याक्स फाइल गर्ने म्याद एकमहिना थपेर मे १७ बनाइएको आईआरएसबाट घोषणा
प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार
(नोट: यो समाचार आईआरएसको औपचारिक सुचना सहित अपडेट गरिएको छ । – सम्पादक)
आइआरएसमा सन् २०२० को ट्याक्स फाइल गर्ने म्याद अप्रिल १५ बाट एकमहिना थपेर मे १७ बनाएको छ । झण्डै २४ मिलियन ट्याक्स रिटर्न प्रकृयामा लैजानका लागि आईआरएससँग ब्याकलग रहेको अवस्थामा म्याद थपेको हो ।
थपिएको म्यादका लागि ट्याक्स फाइल गर्न करदाताले कुनै आवेदन दिनु नपर्ने आईआरएसले जनाएको छ ।

म्याद थपिएपछि करदाताहरुलाई ट्याक्स फाइल गर्नका लागि अतिरिक्त समय प्राप्त भएको छ। साथै उनीहरुलाई करबापतको रकम बुझाउन पनि अतिरिक्त समय प्राप्त भएको छ । यसपटक आईआरएसले नियमित भन्दा केही ढिलो फरबरी १२ बाट ट्याक्स फाइल स्वीकार गर्न सुरु गरेको थियो ।
टेक्सासमा मौषम विपत्तिका कारण आईआरएसले विजनेश र व्यक्तिका लागि ट्याक्स फाइल गर्ने मिति जुन १५ सम्म थप गरेको थियो । संघीय आपतकालिन व्यवस्थापन एजेन्सीले टेक्सासमा विपत्तिको घोषणा गरेकाले त्यसक्षेत्रमा बस्नेहरुलाई राहतका लागि ट्याक्स फाइल गर्ने डेडलाइन बढाइएको थियो ।

परिवर्तित नयाँ नियमहरु, तेश्रो चरणको राहत चेक, बेरोजगारी विमा रकमबाट प्राप्त १० हजार २ सय डलरसम्ममा ट्याक्स छुट लगायतका कैयन प्रावधानहरुका कारण आईआरएसलाई समयमै काम सकाउन हम्मे हम्मे परिरहेको छ । आईआरएसले कागजी रुपमा फाइल गरिएका झण्डै साढे १२ मिलियन ट्याक्स रिटर्न प्रकृयामा लैजान नै सुरु गरेको छैन ।
आईआरएसले अपडेटमा ढिलाई गरेका कारण सन् २०२० को ट्याक्स फाइल गरेका कैयनले तेश्रो चरणको राहत चेक सन् २०१९ कै ट्याक्स फाइलका आधारमा प्राप्त गरेका छन् । सन् २०२० मा जन्मेको बच्चालाई ट्याक्स फाइलमा समावेश गरेपनि आईआरएसले राहत चेक पठाउँदा बच्चालाई छुटाएर रकम पठाएको छ ।






