एटलान्टामा तीनवटा मसाज पार्लरमा गोली चल्दा ७ जनाको मृत्यु
प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार
अमेरिकाको जर्जिया राज्यको मेट्रो एटलान्टामा तीनवटा मसाज पार्लरमा गोली चल्दा ७ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा २ जना घाइते भएका छन् । प्रहरीले यी घटना एक आपसमा सम्बन्धित भए नभएको अनुसन्धान गरिरहेको छ ।
गोली चलेका दुईवटा मसाज पार्लरहरु उत्तरपूर्वी एटलान्टामा आमने सामने रहेका छन् । अर्को पार्लर चेरोकी काउन्टीमा रहेको छ । घटनाको कारण अहिलेसम्म खुलेको छैन ।

योंग एसियन मसाज पार्लरमा गोली चलेको खबरपछि प्रहरी घटनास्थलमा पुग्दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने तीनजना घाइते थिए । उनीहरु अस्पताल लगिएकोमा थप एकजनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति सीसीटिभी क्यामेरामा देखिएको जनाइएको छ ।
त्यस्तै गोल्ड मसाज स्पामा प्रहरी पुग्दा तीनजनाको मृत्यु भइसकेको थियो । लगत्तै अगाडि रहेको अरोमा थेरापी स्पाबाट प्रहरीलाई फोन आएर त्यहाँ पुग्दा एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये ४ जना महिलाहरु रहेको र उनीहरु एसियन रहेको जनाइएको छ ।
घटना स्थानीय समय अनुशार बेलुका ५ बजे भएको हो ।






