नेपाली उबर चालकमाथि दुर्ब्यबहार गर्ने महिलालाई २० बर्ष जेल सजाय हुनसक्ने, तोकियो ७५ हजार धरौटी


प्रकाशित मिति : चैत्र २, २०७७ सोमबार

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक सुभाकर खड्कामाथि दुर्ब्यबहार गर्ने मुख्य महिला अर्ना किमाईबिरुद्धका अभियोगहरु प्रमाणित भएमा उनले २० बर्षसम्मको जेल सजाय भोग्नुपर्ने जनाइएको छ । उनीबिरुद्ध डकैती, आक्रमण तथा हातपात, षड्यन्त्र र स्वास्थ्य तथा सुरक्षा नियमको उल्लंघन लगायतका अभियोगहरु लगाइएको छ ।

यातायातमा काम गर्नेहरुबिरुद्ध हातपातका घटनामा एकबर्षसम्म जेल सजाय र १० हजार डलरसम्म जरिवानाको प्रावधान रहको छ । त्यस्तै पहिलो डिग्री डकैतीका सन्दर्भमा ९ बर्षसम्म जेलसजाय हुनसक्ने प्रावधान रहेको छ । अपराध गर्ने षड्यन्त्रका सन्दर्भमा एकबर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान छ । सबै अभियोग प्रमाणित भएमा उनलाई २० बर्षसम्म जेल सजाय हुनसक्छ ।

२४ बर्षकी अर्ना किमाईले आइतबार राती प्रहरी समक्ष आत्मसमर्पण गरेकी छिन् । उनका लागि ७५ हजार डलर धरौटी तोकिएको जनाएको छ । अर्थात् उक्त रकम धरौटी राखेर उनले जेलबाहिर निस्केर पनि मुद्दा लड्न पाउनेछिन् । जेलको रेकर्ड अनुशार अहिलेसम्म अदालतमा सुनुवाईको मिति भने तोकिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्ना किमाईबिरुद्ध एउटा छुट्टै घटनामा गाडी ठोक्काएर एकजना महिलालाई घाइते बनाएको आरोपमा समेत मुद्दा दायर भएको छ । सन् २०१९ को फेबु्रअरीमा किमाईले गाडी ठोक्काएर एकजना महिलालाई सख्त घाइते बनाएर भागेको मुद्दा दायर गरिएको हो ।

अर्ना किमाईले असुरक्षितरुपमा गाडी मोडेर अर्को गाडीलाई ठक्कर दिंदा उक्त गाडीमा रहेकी महिला सख्त घाइते भएकी थिइन् । अदालतमा दायर गरिएको मुद्दामा गाडीको क्षतिपूर्ति, उपचार खर्च र आम्दानी गुमेको क्षतिपूर्ति दावी गरिएको छ ।

ती महिलाले हाइवेमा १ सय २२ माइल प्रतिघण्टाको गतिमा गाडी चलाएको एउटा अर्को भिडियो समेत सार्वजनिक भएको छ । उक्त भिडियोमा गैरकानूनी रुपमा हाइवेमा बढी स्पीडमा गाडी कुदाएको देख्न सकिन्छ ।

ती महिला विगतमा पनि कम्तीमा तीनपटकसम्म पक्राउ परेको खुलासा भएको छ । उनी सन् २०१५ मा एकपटक र २०२० मा दुईपटक पक्राउ परेको रेकर्डमा देखिएको छ ।

उनी सन् २०१५ को जुलाई १४ मा अरुको सामान जबर्जस्ती लिएको अभियोगमा लस एन्जलसमा पक्राउ परेकी थिइन् । त्यस्तै सन् २०२० को फेबु्रअरी १२ मा अरेन्ज काउन्टीको प्रहरीले उनलाई चोरीको अभियोगमा पक्राउ गरेको थियो । त्यस्तै सन् २०२० कै जुलाई १६ मा उनी अरुको गाडी विना अनुमति लिएर हिडेको अभियोगमा पक्राउ परेकी थिइन् ।

दुर्ब्यबहार गर्ने अर्की महिला बिहिबार नै पक्राउ

नेपाली उबर चालक खड्कामाथि दुर्ब्यबहार गर्ने अर्की महिला २४ बर्षकी मलेसिया किङलाई प्रहरीले बिहिबार नै पक्राउ गरेको थियो । ती महिलामाथि पनि आक्रमण गरेको, अरुको सामान जबर्जस्ती खोसेको र स्वास्थ्य तथा सुरक्षा नियम उल्लंघन गरेको अभियोग लगाइएको छ ।

ती महिलाले पनि विगतमा नक्कली परिचयपत्र प्रयोग गरेर बैंकमा रकम ट्रान्सफर गर्ने लगायतका काम गरेको खुलासा भएको छ । खड्काले तीनजना महिला यात्रुलाई पिकअप गरेका भएतापनि बीचमा बस्ने अर्की महिलालाबिरुद्ध भने कुनै अभियोग लगाइएको छैन । ती महिला भिडियोमा दुर्ब्यबहारमा संलग्न नभएको र मोबाइल चलाएर बसिरहेको देख्न सकिन्छ । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

भिडियोमा खोक्ने, फोन खोस्ने, मास्क च्यात्ने र अपशब्द बोल्ने मुख्य व्यक्ति किमाई हुन् भने अर्को छेउमा रहेकी रातो पोशाक लगाउने मलेसिया किङ हुन् । मलेसिया किङले पनि खड्कामाथि खोक्ने र आफूलाई कोरोना संक्रमण भएको भन्दै दुर्ब्यबहार गरेको भिडियोमा देखिएको छ ।

उबरले नेपाली चालकमाथि भएको यो आक्रमण भयावह भएको बताउँदै दुर्ब्यबहार गर्ने यात्रुको एकाउन्ट खारेज गरिदिएको थियो । त्यसपछि युवतीले अब लिफ्ट चढ्ने घोषणा गरेकी थिइन् । तर लगत्तै लिफ्टले पनि ती युवतीमाथि प्रतिबन्ध लगाएको थियो ।

ती युवतीलाई मास्क लगाउन आग्रह गर्दा उनी र उनको समुहले गत साता नेपाली उबर चालक खड्कामाथि खोक्नुका साथै मास्क च्यात्ने, फोन खोस्ने, पिरो स्प्रे छर्कने तथा अपशब्द बोल्ने लगायतका दुब्र्यबहार गरेका थिए ।

खड्काले आफूमाथि दक्षिण एसियाली आप्रवासी भएका कारण उनीहरुले निशाना बनाएको र विभेदकारी गाली गलौज समेत गरेको बताएका छन् । गाडीमा चढेकी ती महिलाले मास्क लगाउन अस्वीकार गरेपछि आफूले गाडी रोकेको तथा मास्क किन्नका लागि ग्यास स्टेशनति गाडी लैजाने क्रममा ती महिलाले दुब्यबहार सुरु गरेको खड्काले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com