आइआरएसले पठायो तेश्रो चरणको राहत चेकको पहिलो ब्याच, बैंक एकाउन्टमा देखिन सुरु
प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार
आईआरएसले पहिलो ब्याचमा योग्य अमेरिकनहरुलाई १४ सय डलरको राहत चेक पठाएको छ । आईआरएसले शुक्रबार नै बैंक खातामा रकम पठाएको जनाएको छ । कतिपयको बैंक खातामा रकम सप्ताहन्तका कारण सोमबारसम्म देखिनसक्नेछ भने कतिपयको बैंक खातामा रकम आइसकेको छ ।
शुक्रबार ट्रेजरी डिपार्टमेन्टका अधिकारीले रकम पठाइसकिएको र आगामी साताहरुमा थप व्यक्तिलाई रकम पठाइने जानकारी दिएका हुन् । रकम प्राप्त गर्नका लागि योग्य व्यक्तिले कुनै कदम चाल्नुनपर्ने जनाइएको छ ।

राष्ट्रपति जो बाइडेनले बिहिबार नै राहत चेक समेटिएको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा हस्ताक्षर गरेका थिए । यो प्याकेजमा राहत चेकका अतिरिक्त अत्यन्तै उदार चाइल्ड ट्याक्स क्रेडिट र बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक रकमको अवधि थप लगायतका प्रावधानहरु समेटिएको छ ।
आईआरएससँग बैंक एकाउन्ट नभएकाहरुले भने राहत चेकको रकम पाउन केहीसमय प्रतिक्षा गर्नुपर्नेछ । उनीहरुले डेबीट कार्ड वा कागजको चेकमार्फत रकम पाउनेछन् ।

७५ हजार भन्दा कम बार्षिक आम्दानी भएकाले १४ सय डलर, १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले २८ सय र हरेक डिपेन्डेन्टका लागि १४ सय डलरका दरले रकम प्राप्त हुनेछ ।
राहत चेक २०१९ वा २०२० को आम्दानीको आधारमा हुनेछ । सन् २०२० को ट्याक्स फाइल गरिसकेकाहरुका सन्दर्भमा २०२० कै आम्दानीका आधारमा र नगरेकाहरुको सन्दर्भमा २०१९ को आम्दानीका आधारमा चेक प्राप्त हुनेछ । उदाहरणका लागि दुईवटा बच्चा भएका दम्पत्तिले ५६ सय डलरको चेक पाउनेछन् ।






