राहत चेक यसै सप्ताहन्तमा खातामा आइपुग्ने ह्वाइटहाउसबाट जानकारी
प्रकाशित मिति : फाल्गुन २७, २०७७ बिहीबार
आईआरएससँग बैंक खाता भएका योग्य अमेरिकनहरुले १४ सय डलरको राहत चेक यसै सप्ताहन्तमा बैंक खातामा प्राप्त गर्ने ह्वाइटहाउसले जानकारी दिएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले बिहिबार दिउसो आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएकी हुन् ।
आज राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा राहत चेकका अतिरिक्त अत्यन्तै उदार चाइल्ड ट्याक्स क्रेडिट र बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक रकमको अवधि थप लगायतका प्रावधानहरु समेटिएको छ । आईआरएससँग बैंक एकाउन्ट नभएकाहरुले भने राहत चेकको रकम पाउन केहीसमय प्रतिक्षा गर्नुपर्नेछ । उनीहरुले डेबीट कार्ड वा कागजको चेकमार्फत रकम पाउनेछन् ।

विगतमा दुईवटा राहत चेक पठाएको आईआरएससँग पहिलेकै प्रणाली कायम रहेकाले राहत चेक पठाउनमा ढिलाई नहुने भएको हो । ७५ हजार भन्दा कम बार्षिक आम्दानी भएकाले १४ सय डलर, १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले २८ सय र हरेक डिपेन्डेन्टका लागि १४ सय डलरका दरले रकम प्राप्त हुनेछ ।
राहत चेक २०१९ वा २०२० को आम्दानीको आधारमा हुनेछ । सन् २०२० को ट्याक्स फाइल गरिसकेकाहरुका सन्दर्भमा २०२० कै आम्दानीका आधारमा र नगरेकाहरुको सन्दर्भमा २०१९ को आम्दानीका आधारमा चेक प्राप्त हुनेछ । उदाहरणका लागि दुईवटा बच्चा भएका दम्पत्तिले ५६ सय डलरको चेक पाउनेछन् ।






