राहत चेक समेटिएको बिलमा राष्ट्रपतिबाट हस्ताक्षर
प्रकाशित मिति : फाल्गुन २७, २०७७ बिहीबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । शुक्रवार हस्ताक्षर गर्ने अपेक्षा गरिएको बिलमा बाइडेनले आजै हस्ताक्षर गरेका हुन् ।
बिल हिजो अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पनि पारित भएको थियो । बिलका पक्षमा २२० र विपक्षमा २११ मत खसेको थियो ।
यो प्याकेज सिनेटबाट संसोधनसहित पारित भएकाले पुन प्रतिनिधिसभाबाट पारित गर्नुपर्ने अवस्था आएको थियो । यो प्याकेज बाइडेन प्रशासनले प्रतिज्ञा गरेको अनुशारको पहिलो विधायिका जीत भएको छ । बजेट प्रकृयाबाट पारित गरिएकाले प्याकेज पारित गर्नका लागि रिपब्लिकन सांसदको सहयोग आवश्यक परेन ।

प्याकेजमा बाइडेनले हस्ताक्षर गरिसकेकाले योग्यहरूले मार्चभित्रै तेश्रो चरणको राहत चेक प्राप्त गर्नेछन् ।
राहत प्याकेजमा १४ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय सय डलर सेप्टेम्बर ६ सम्म प्रदान गर्ने उल्लेख छ । त्यस्तै १ लाख ५० हजारभन्दा कम आम्दानी हुने परिवारको हकमा सुरुको १० हजार २ सय सम्मको सुविधा रकममा ट्याक्स नलाग्ने प्रावधान छ ।
राहत चेकको योग्यतामा परिवर्तन गरिएकाले ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले राहत चेकको पूर्ण अंश प्राप्त गर्नेछन् । तर ८० हजारभन्दा बढी आम्दानी हुनेहरुले पनि राहत चेकको कुनै पनि अंश प्राप्त नगर्नेगरी सहमति कायम भएको छ । त्यस्तै दम्पत्तिको सन्दर्भमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै राहत चेक पाउनेछन् तर १ लाख ६० हजारभन्दा धेरै आम्दानी हुनेहरुले चेकको कुनै पनि अंश पाउनेछैनन् ।
घरमूलीका सन्दर्भमा १ लाख १२ हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै १४ सय पाउनेछन् तर १ लाख २० हजारभन्दा बढी आम्दानी हुनेहरुले कुनै रकम पाउनेछैनन् । थ्रेसहोल्ड भन्दा बढी आम्दानी हुनेहरुले पाउने राहत चेकको रकम घट्दै जाने हिसाबका लागि पनि नयाँ बिधिको प्रयोग गरिने भएको छ ।






