राहत प्याकेज प्रतिनिधिसभाबाट भोलि पारित हुने, राहत चेक मार्चभित्रै खातामा


प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेन समर्थित १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज भोलि मंगलबार प्रतिनिधिसभाबाट पनि पारित हुने अपेक्षा गरिएको छ । प्याकेज सिनेटबाट संसोधनसहित पारित भएकाले पुन: प्रतिनिधिसभाबाट पारित गर्नुपर्ने अवस्था आएको हो ।

यो प्याकेज बाइडेन प्रशासनले प्रतिज्ञा गरेको अनुशारको पहिलो विधायिका जीत हो । विभाजित सिनेटले अत्यन्तै झिनो मतान्तरले राहत प्याकेज पारित गरेको थियो । बजेट प्रकृयाबाट शनिबार ५० मतले सिनेटबाट राहत प्याकेज पारित भएको थियो । प्याकेजको विपक्षमा ४९ मत खसेको थियो । एकजना रिपब्लिकन सिनेटर पारिवारिक दाहसंस्कारमा सहभागी हुनुपरेकाले मतदानमा उपस्थीत हुन सकेनन् ।

आफूले ४५ दिन अगाडि राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्दा सहयोग आउने क्रममा रहेको प्रतिज्ञा गरेको र उक्त प्रतिज्ञा पूरा गर्न लागिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । प्याकेजमा बाइडेनले मार्च १४ अगाडि नै हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । त्यसपछि अधिकांशले मार्चभित्रै तेश्रो चरणको राहत चेक प्राप्त गर्नेछन् ।

राहत प्याकेजमा १४ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय सय डलर सेप्टेम्बर ६ सम्म प्रदान गर्ने उल्लेख छ । त्यस्तै १ लाख ५० हजारभन्दा कम आम्दानी हुने परिवारको हकमा सुरुको १० हजार २ सय सम्मको सुविधा रकममा ट्याक्स नलाग्ने प्रावधान पारित भएको छ ।

बिल बजेट प्रकृयाबाट पारित गरिएकाले रिपब्लिकन सिनेटरहरुको समर्थन आवश्यक परेन । तर रातभर ‘भोट अ रामा’ को प्रकृया अपनाउनु परेको थियो ।

राहत चेकको योग्यतामा परिवर्तन गरिएकाले ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले राहत चेकको पूर्ण अंश प्राप्त गर्नेछन् । तर ८० हजारभन्दा बढी आम्दानी हुनेहरुले पनि राहत चेकको कुनै पनि अंश प्राप्त नगर्नेगरी सहमति कायम भएको छ । त्यस्तै दम्पत्तिको सन्दर्भमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै राहत चेक पाउनेछन् तर १ लाख ६० हजारभन्दा धेरै आम्दानी हुनेहरुले चेकको कुनै पनि अंश पाउनेछैनन् ।

घरमूलीका सन्दर्भमा १ लाख १२ हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै १४ सय पाउनेछन् तर १ लाख २० हजारभन्दा बढी आम्दानी हुनेहरुले कुनै रकम पाउनेछैनन् । थ्रेसहोल्ड भन्दा बढी आम्दानी हुनेहरुले पाउने राहत चेकको रकम घट्दै जाने हिसाबका लागि पनि नयाँ बिधिको प्रयोग गरिने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com