राहत चेक र साप्ताहिक ३ सय समेटिएको राहत प्याकेज सिनेटबाट पारित


प्रकाशित मिति : फाल्गुन २२, २०७७ शनिबार

राष्ट्रपति जो बाइडेन समर्थित १ दशमलव ९ ट्रिलियनको राहत प्याकेज सिनेटबाट पारित भएको छ । बिलका पक्षमा ५० र विपक्षमा ४९ मत खसेको थियो । एकजना रिपब्लिकन सिनेटर अनुपस्थीत भएकाले विपक्षमा ४९ मतमात्र खसेको हो ।

राहत प्याकेजमा १४ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय सय डलर सेप्टेम्बर ६ सम्म प्रदान गर्ने उल्लेख छ । त्यस्तै १ लाख ५० हजारभन्दा कम आम्दानी हुने परिवारको हकमा सुरुको १० हजार २ सय सम्मको सुविधा रकममा ट्याक्स नलाग्ने प्रावधान पारित भएको छ । हाउसबाट पारित बिलमा ट्याक्सको प्रावधान समावेश नभएपनि यसलाई सिनेटमा संसोधन गरिएको थियो ।

हाउसबाट पारित बिल सिनेटमा संसोधन गरिएकाले उक्त बिल राष्ट्रपति बाइडेनको टेबुलसम्म पुग्नु अगाडि  प्रतिनिधिसभाबाट पुन: पारित गराउनुपर्ने भएको छ । स्पीकर न्यान्सी पेलोसीले प्रतिनिधिसभाबाट बिल पारित गर्ने ग्यारेन्टी गरेकी छिन् । बिल मार्च १४ सम्म राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

बिल बजेट प्रकृयाबाट पारित गरिएकाले रिपब्लिकन सिनेटरहरुको समर्थन आवश्यक परेन । तर रातभर ‘भोट अ रामा’ को प्रकृया अपनाउनु परेको थियो ।

राहत चेकको योग्यतामा परिवर्तन गरिएकाले ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले राहत चेकको पूर्ण अंश प्राप्त गर्नेछन् । तर ८० हजारभन्दा बढी आम्दानी हुनेहरुले पनि राहत चेकको कुनै पनि अंश प्राप्त नगर्नेगरी सहमति कायम भएको छ । त्यस्तै दम्पत्तिको सन्दर्भमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै राहत चेक पाउनेछन् तर १ लाख ६० हजारभन्दा धेरै आम्दानी हुनेहरुले चेकको कुनै पनि अंश पाउनेछैनन् ।

घरमूलीका सन्दर्भमा १ लाख १२ हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै १४ सय पाउनेछन् तर १ लाख २० हजारभन्दा बढी आम्दानी हुनेहरुले कुनै रकम पाउनेछैनन् । थ्रेसहोल्ड भन्दा बढी आम्दानी हुनेहरुले पाउने राहत चेकको रकम घट्दै जाने हिसाबका लागि पनि नयाँ बिधिको प्रयोग गरिने भएको छ ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com