महामारी इतिहास नबन्दासम्म राहत चेक बारम्बार पठाउन डेमोक्रेटिक सिनेटरको माग
प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार
कोरोना महामारी इतिहास नबन्दासम्म अमेरिकनहरुलाई बारम्बार राहत चेक पठाउन डेमोक्रेटिक सिनेटरहरुले राष्ट्रपति जो बाइडेनसमक्ष माग गरेका छन् । पटकपटक अर्को चरणको राहत चेकका लागि नयाँ बिल, नयाँ सहमति र पटकपटक मतदानको साटो बारम्बार राहत चेक पठाउन १० जना डेमोक्रेटिक सिनेटरहरुले माग गरेका छन् ।
उनीहरुले एक पत्रमार्फत कोरोना महामारी समाप्त नहुँदासम्म परिवारहरुलाई सहयोगका लागि दोहोर्याएर राहत चेक पठाउने प्रावधान लागु गराउन माग गरेका हुन् । सिनेटबाट बाइडेन समर्थित १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज पारित गर्ने तयारी भइरहँदा डेमोक्रेटिक सिनेटरहरुको यस्तो माग सार्वजनिक भएको हो ।

पत्रमा बर्नी स्याडर्स, एलिजाबेथ वारेन, रोन वायडेन, एलेक्स पाडिला, माइकल बेनेट, एडवार्ड मार्के, कोरी बुकर, क्रिस्टेन जिलिब्राण्ड, शेरोड ब्राउन, ट्यामी बाल्डवीन र रिचार्ड ब्लुमेन्थलले हस्ताक्षर गरेका छन् ।
गत जनवरीमा पनि ५० जनाभन्दा धेरै डेमोक्रेटिक सांसदहरुले महामारी समाप्त नहुँदासम्म मासिक २ हजार डलरको राहत चेक पठाउन ट्रम्प प्रशासन समक्ष आग्रह गरेका थिए । डेमोक्र्याट्सहरु धेरै धेरैभन्दा धेरै राहतको पक्षमा रहेको बेला रिपब्लिकनहरु भने बाइडेन समर्थित राहत प्याकेजको विपक्षमा उभिएका छन् ।
यसैबीच १४ सय डलरको राहत चेक पाउनेको योग्यता कटौती गर्न राष्ट्रपति जो बाइडेन र सिनेटमा डेमोक्रेटिक सांसदहरु सहमत भएका छन् । बाइडेनसँगको छलफलमा विगतको तुलनामा कम व्यक्तिलाई राहत चेक उपलब्ध गराउने विषयमा सहमति कायम भएको छ ।
७५ हजारभन्दा कम आम्दानी हुनेहरुले राहत चेकको पूर्ण अंश प्राप्त गर्नेछन् । तर ८० हजारभन्दा बढी आम्दानी हुनेहरुले पनि राहत चेकको कुनै पनि अंश प्राप्त नगर्नेगरी सहमति कायम भएको छ । त्यस्तै दम्पत्तिको सन्दर्भमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै राहत चेक पाउनेछन् तर १ लाख ६० हजारभन्दा धेरै आम्दानी हुनेहरुले चेकको कुनै पनि अंश पाउनेछैनन् ।

घरमूलीका सन्दर्भमा १ लाख १२ हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै १४ सय पाउनेछन् तर १ लाख २० हजारभन्दा बढी आम्दानी हुनेहरुले कुनै रकम पाउनेछैनन् । थ्रेसहोल्ड भन्दा बढी आम्दानी हुनेहरुले पाउने राहत चेकको रकम घट्दै जाने हिसाबका लागि पनि नयाँ बिधिको प्रयोग गरिने भएको छ ।
काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय डलर प्रदान गर्ने विषय भने सिनेटमा पनि कायम नै रहने भएको छ । शनिबार विहानै प्रतिनिधिसभाबाट पारित भएको राहत प्याकेज सिनेटमा केही संसोधनसहित आउने भएको हो । रिपब्लिकनको समर्थन नपाएको यो बिल सिनेटमा पनि बजेट प्रकृयाबाट रिपब्लिकनको सहमति विना नै पारित हुने देखिएको छ ।

हरेक डिपेन्डेन्टले १४ सय डलरको राहत चेक पाउने विषयमा पनि सहमतिको प्रभाव पर्ने बताइएको छ । यो बिल यसै साता सिनेटमा मतदानका लागि जाने भएको छ भने राष्ट्रपतिको टेबुलमा भने मार्च १४ अगाडि नै पुग्ने अपेक्षा गरिएको छ ।






