अमेरिकी संसदभवन नियन्त्रणको योजनापछि सुरक्षा व्यवस्था कडा, प्रतिनिधिसभा बैठक स्थगित
प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार
अमेरिकामा एउटा हिंश्रक अतिवादी सशस्त्र समुहले संसदभवनमा नियन्त्रण कायम गर्ने र डेमोक्रेटिक सांसदहरुलाई हटाउने योजना बनाएको सुचनाको आधारमा आज संसदका बैठकहरु स्थगीत गरिएको छ भने क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । संघीय उच्च सुरक्षा शतर्कता अपनाउनुका साथै सांसदहरुलाई सम्भावित खतराबारे बुधबार नै जानकारी दिइसकिएको छ ।
षड्यन्त्रका सिद्धान्तकारहरुले मार्च ४ लाई डोनाल्ड ट्रम्प राष्ट्रपतिमा फर्कने मितिका रुपमा व्याख्या गरेको अवस्थामा अतिवादीहरुले मार्च ४ र आसपासमा क्यापिटल हिलमा नियन्त्रण कायम गर्नेबारे छलफल गरेको खुफिया बुलेटिन यसैसाता सर्कुलर गरिएको थियो । संसदमा आजका लागि तय भएका केही मतदानहरु हिजै बुधबार गरिएको थियो ।

एफबीआई र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको संयुक्त बुलेटिनमा हिंश्रक अतिवादीहरुले मार्च ४ को षड्यन्त्रका लागि हजारौंको संख्यामा वासिंटन डिसीमा आउने योजना बनाएको उल्लेख छ । उनीहरुले यसबारे अनलाइनमा कुराकानी गरेको र भौतिक रुपमा नै वासिंटन डिसी आइहाल्नेबारे भने आशंका रहेको जनाइएको छ ।
सन् १७९३ र १९३३ मा राष्ट्रपतिको पदस्थापन कार्यक्रम मार्च ४ वा आसपासको मितिमा भएका कारण केही षड्यन्त्रका सिद्धान्तकारहरुले यो मितिमा ट्रम्प फर्केर आउने व्याख्या गरेका थिए । प्रतिनिधिसभाका आजका बैठकहरु स्थगित गरिएपनि सिनेटको कार्यसुची भने जारी नै रहेको छ ।
ट्रम्पका समर्थकहरूले जनवरी ६ मा इलेक्टोरल मतगणनाका बेलामा संसद भवनमा आक्रमण गरेका थिए। त्यसको झण्डै २ महिनापछि आज सुरक्षा व्यवस्था कडा बनाइएको हो । ट्रम्पले अझै पनि चुनावमा धाँधली भएको बताउँदै आएका छन् ।





