क्यालिफोर्नियाको सिमाक्षेत्रमा तारबारको प्वालबाट छिरेका १३ कागजपत्रविहिनको दुर्घटनामा मृत्यु


प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार

क्यालिफोर्नियामा मंगलबार विहान भएको दुर्घटनामा ज्यान गुमाउने १३ जना मेक्सिको र अमेरिकाको सिमाक्षेत्रमा लगाइएको तारबारको प्वालबाट छिरेका कागजपत्रविहिनहरु रहेको खुलासा भएको छ । तारबार च्यातिएको १० फुटको प्वालबाट कम्तीमा ४४ जना व्यक्ति अमेरिका छिरेको सीसीटिभी फुटेजमा देखिएको सीबीपीले जनाएको छ ।

इम्पेरियल काउन्टीमा मंगलबार विहानै ७ बजे उक्त एसयुभी भ्यान एउटा गिट्टी बोकेको ट्रकसँग ठोकिएको थियो । उक्त भ्यान कागजपत्रविहिनहरु बोकेका दुईवटामध्येको एउटा भएको जनाइएको छ । तारबारमा रहेको प्वालबाट दुईवटा गाडीहरु अमेरिका छिरेका थिए ।

क्यालिफोर्नियामा अमेरिका र मेक्सिकोको सिमाक्षेत्र

२५ जना चढेको गाडी ट्रकसँग ठोक्किदा मृत्यु हुने १३ मध्ये १० जना मेक्सिकनहरु रहेका मेक्सिकोको कन्सुलर अफेयर्सले पुष्टी गरेको छ । मंगलबार विहान नै सीबीपीले इन्टरस्टेट ८ र स्टेट रुट ११५ को इन्टरसेक्सनमा १९ जना कागजपत्रविहिनहरु लुकेर बसेको अवस्थामा फेला पारेका थिए । उनीहरु पनि तारबारमा रहेको प्वालबाटै छिरेको सीबीपीले बताएको छ ।

दुर्घटनास्थल घटनास्थल एल सेन्ट्रोबाट १० माइल पूर्व र मेक्सिकोको सिमाबाट १० माइल उत्तरमा रहेको थियो । घाइतेमध्ये ७ जनालाई एल सेन्ट्रो अस्पतालमा लगिएको थियो भने २ जनालाई पायोनियर अस्पताल लगिएको थियो । ३ जनालाई एयर एम्बुलेन्सबाट अस्पताल लगिएको थियो ।

दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना स्थानीय समय अनुशार विहान सबा ६ बजे भएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com