१४ सय डलरको राहत चेक पाउनेको योग्यता कटौती गर्न बाइडेन सहमत


प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार

१४ सय डलरको राहत चेक पाउनेको योग्यता कटौती गर्न राष्ट्रपति जो बाइडेन र सिनेटमा डेमोक्रेटिक सांसदहरु सहमत भएका छन् । बाइडेनसँगको छलफलमा विगतको तुलनामा कम व्यक्तिलाई राहत चेक उपलब्ध गराउने विषयमा सहमति कायम भएको छ ।

७५ हजारभन्दा कम आम्दानी हुनेहरुले राहत चेकको पूर्ण अंश प्राप्त गर्नेछन् । तर ८० हजारभन्दा बढी आम्दानी हुनेहरुले पनि राहत चेकको कुनै पनि अंश प्राप्त नगर्नेगरी सहमति कायम भएको छ । त्यस्तै दम्पत्तिको सन्दर्भमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै राहत चेक पाउनेछन् तर १ लाख ६० हजारभन्दा धेरै आम्दानी हुनेहरुले चेकको कुनै पनि अंश पाउनेछैनन् ।

घरमूलीका सन्दर्भमा १ लाख १२ हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै १४ सय पाउनेछन् तर १ लाख २० हजारभन्दा बढी आम्दानी हुनेहरुले कुनै रकम पाउनेछैनन् । थ्रेसहोल्ड भन्दा बढी आम्दानी हुनेहरुले पाउने राहत चेकको रकम घट्दै जाने हिसाबका लागि पनि नयाँ बिधिको प्रयोग गरिने भएको छ ।

काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय डलर प्रदान गर्ने विषय भने सिनेटमा पनि कायम नै रहने भएको छ । शनिबार विहानै प्रतिनिधिसभाबाट पारित भएको राहत प्याकेज सिनेटमा केही संसोधनसहित आउने भएको हो । रिपब्लिकनको समर्थन नपाएको यो बिल सिनेटमा पनि बजेट प्रकृयाबाट रिपब्लिकनको सहमति विना नै पारित हुने देखिएको छ ।

हरेक डिपेन्डेन्टले १४ सय डलरको राहत चेक पाउने विषयमा पनि सहमतिको प्रभाव पर्ने बताइएको छ । यो बिल यसै साता सिनेटमा मतदानका लागि जाने भएको छ भने राष्ट्रपतिको टेबुलमा भने मार्च १४ अगाडि नै पुग्ने अपेक्षा गरिएको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com