अमेरिकामा जोन्सन एण्ड जोन्सनका ४० लाख डोज गन्तब्यतर्फ, मंगलबारभित्रै पाखुरामा
प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार
एक डोज लगाए पुग्ने कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनको ४ लाख डोज बोकेका ट्रकहरु अमेरिकाका विभिन्न लोकेशनका लागि हिडिसकेका छन् । सोमबार विहान ट्रकहरु लोड गरेर गन्तब्य तर्फ पठाइसकिएको र २४ देखि ४८ घण्टाभित्र विभिन्न लोकेशनहरुमा पुग्ने कम्पनीका सीईओ एलेक्स गोर्स्कीले जनाएका छन् ।
कतिपय स्थानमा मंगलबार र केही स्थानमा बुधबार जोन्सन एण्ड जोन्सनका डोजहरु अमेरिकनहरुको पाखुरामा प्रवेश गरिसक्नेछन् । यो भ्याक्सिन एउटामात्रै डोज लगाए पुग्ने भएकाले १८ बर्षमाथिका ४ मिलियन जनसंख्यालाई नै लगाउन पुग्नेछ ।
कम्पनीले जुनभित्र १ सय मिलियन शट र यो बर्षको अन्त्यसम्ममा १ बिलियन शट अमेरिकामा डेलिभर गर्ने जनाएको छ । अमेरिकाको एफडीएले शनिबारमात्र यो भ्याक्सिनलाई अमेरिकामा प्रयोगका लागि आपतकालिन अनुमति प्रदान गरेको यियो । लगत्तै सीडीसीबाट पनि स्वीकृत भएको थियो ।

यो अब अमेरिकामा उपलब्ध एकडोज लगाएमात्र पुग्ने पहिलो भ्याक्सिन हो भने अमेरिकामा उपलब्ध कोरोनाबिरुद्धको तेश्रो भ्याक्सिन हो । जोन्सन एण्ड जोन्सन कम्पनीको भ्याक्सिन विभाग जान्सेनले बनाएको यो भ्याक्सिन सुरक्षित र प्रभावकारीमात्र नभई भण्डारण गर्न र लगाउन समेत सहज रहेको छ ।
यो भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको तथा अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्न पूर्णरुपमा सफल भएको निष्कर्ष निकालिएको छ । भ्याक्सिन लगाएको ४ हप्तापछि कोरोनाबाट बिरामी हुनबाट रोक्न समग्रमा झण्डै ६६ प्रतिशत प्रभावकारी देखिएको छ । सिकिस्त बिरामी हुनबाट रोक्न भने झण्डै ८६ प्रतिशत प्रभावकारी रहेको छ । अमेरिकामा समग्र प्रभावकारिता ७२ प्रतिशत मापन गरिएको छ । मोडेर्ना र फाइजरका भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेका छन् ।
अमेरिकामा चौथो कोरोनाबिरुद्धको भ्याक्सिन आष्ट्राजेनेका अप्रिलमा उपलब्ध हुने अपेक्षा गरिएको छ । स्वीकृति पाउनासाथ ३० मिलियन डोज र अप्रिलको अन्तिमसम्म ५० मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने आष्ट्राजेनेकाले जनाएको छ ।






