अमेरिकी संसदको तल्लो सदनबाट समानता ऐन पारित, लैंगिक अल्पसंख्यकका पक्षमा ठूलो जीत
प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार
अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट यौन झुकाव र लैंगिक पहिचानका आधारमा विभेद गर्न नपाइने समानता ऐन पारित भएको छ । लैंगिक अल्पसंख्यकका पक्षमा ठूलो जीतका रुपमा व्याख्या गरिएको यो ऐनले अमेरिकाको सन् १९६४ को नागरिक अधिकार ऐनलाई संसोधन गरेर रोजगार, आवास लगायतका सुविधादेखि रेष्टुरेण्ट लगायतका क्षेत्रमा पहुचका लागि संरक्षण प्रदान गरेको छ ।
प्रतिनिधिसभामा यो ऐनले डेमोक्र्याट्सहरुको निर्विरोध समर्थन प्राप्त गरेको छ । ऐनका पक्षमा २२४ र विपक्षमा २०६ जनाले मतदान गरेका थिए । तीनजना रिपब्लिकनले पार्टीको लाइन विपरित ऐनको पक्षमा मतदान गरेका थिए । यो बिल प्रतिनिधिसभाबाट सन् २०१९ मा पारित हुँदा ८ जना रिपब्लिकनहरुले समर्थन गरेका थिए ।

यसपटक सिनेटमा डेमोक्र्याट्सको बहुमत कायम रहेको अवस्थामा सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले यो बिल सिनेटको फ्लोरमा ल्याउने प्रतिबद्धता जनाइसकेका छन् । रिपब्लिकनहरुले भने लैंगिक अल्पसंख्यकप्रतिको विभेदकारी भावनाका कारण नभई यो बिलले धार्मिक स्वतन्त्रताहरुको उल्लंघन गर्ने भन्दै विरोध गरेको बताएका छन् ।
आलोचकहरुले यो बिलले महिलाको खेलमा समेत समस्या पैदा गर्नसक्ने बताएका छन् । बिलमा कुनै पनि व्यक्तिलाई उनीहरुको लैगिक पहिचानका आधारमा शौचालय, लकर रुम र ड्रेसिङ रुममा जानबाट रोक्न नसकिने प्रावधान रहेको र यसले समस्या उत्पन्न गर्ने रिपब्लिकनहरुको तर्क छ । यदि कुनै पुरुषले आफूलाई महिलाका रुपमा पहिचान गराएको खण्डमा उसले महिलाको खेलमा भाग लिनसक्ने आलोचकले बताएका छन् ।
पछिल्ला बर्षहरुमा तेश्रो लिंगी खेलाडीहरुले लैंगिक पहिचानका कारण खेलहरुमा सहभागितालाई सिमित गर्ने कानूनहरुबिरुद्ध आवाज उठाउँदै आएका थिए । बिलले यसलाई सम्बोधन गरेको छ । अमेरिकी सेनामा तेश्रो लिंगीहरुलाई रोक लगाउने ट्रम्पको नियमलाई बाइडेनले उल्टाए लगत्तै यो बिल प्रतिनिधिसभाबाट पारित भएको हो ।






