कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो डोज दिनेबारे अध्ययन गर्दै फाइजर
प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार
कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो डोज दिनेबारे अध्ययन गरिरहेको भ्याक्सिन निर्माता कम्पनी फाइजरले जनाएको छ । अमेरिकामा लगाउने कार्य जारी रहेको फाइजरको भ्याक्सिन दुईडोज दिंदा कोरोनाबिरुद्धको संक्रमण रोक्न ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।
तर तेश्रो बुस्टर डोजका लागि समेत तयारी भइरहेको बिहिबार कम्पनीले घोषणा गरेको हो । पहिलो डोज प्राप्त गरेको ६ महिना पुगिसकेकाहरुका लागि तेश्रो बुस्टर डोज दिनेबारे अध्ययन सुरु गरिएको हो ।

तेश्रो डोजले इम्युन अझ राम्रो तरिकाले विकाश गर्ने फाइजरका सीईओले बताएका छन् । तेश्रो डोजले एन्टीबडी १० देखि २० गुणासम्ब बढाउने उनको विश्वास रहेको छ । नयाँ अध्ययनले १८ देखि ५५ बर्षसम्म र ६५ देखि ८५ बर्षसम्मकाहरुमा तेश्रो डोजको प्रभावबारे अवलोकन गर्नेछ ।
नयाँ क्लीनिकल परीक्षण आगामी मे महिनाबाट सुरु हुने जनाइएको छ । यो परीक्षणमा तीनसाताको अन्तरमा भ्याक्सिनका दुईवटा डोजहरु पाएकाहरुलाई तेश्रो शट प्रदान गरिनेछ । फाइजरले सुरुमा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकारबिरुद्ध भ्याक्सिनको संसोधित भर्सनले काम गर्ने नगर्नेबारे परीक्षण सुरु गर्ने योजना समेत बनाएको छ ।

कोरोनाबिरुद्धको भ्याक्सिनले कतिसमय संरक्षण प्रदान गर्नसक्छ भन्नेबारे अझै स्पष्ट छैन । तर हरेक बर्ष कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने अवस्था आउनसक्ने देखिएको छ । महामारी सकिएपनि कोभिड रहिरहने अवस्था भएकाले हरेक बर्ष फ्लुको जस्तै भ्याक्सिन लगाउनुपर्ने परिदृश्य देखिएको हो । तर यसबारे थप अध्ययनहरु भइरहेका छन् ।






