२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

एक शट लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको अमेरिकामा स्वीकृतिका लागि मापदण्ड पूरा

एक शट लगाए पुग्ने कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनबाट अमेरिकामा प्रयोगका लागि मापदण्ड पूरा गरेको अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले जनाएको छ । बुधबार सार्वजनिक गरेको रिभ्यु अनुशार यो भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको तथा अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्न पूर्णरुपमा सफल भएको निष्कर्ष निकालिएको छ ।

अब यो भ्याक्सिनले यसै साताको अन्तिमसम्म अमेरिकामा प्रयोगका लागि अनुमति पाउने अपेक्षा गरिएको छ । अमेरिकामा प्रयोगका लागि अनुमति पाउने यो तेश्रो भ्याक्सिन हुनेछ । डिसेम्बरमा प्रयोगको स्वीकृति पाएका मोडेर्ना र फाइजरका भ्याक्सिनहरु अमेरिकामा धमाधम लगाउने क्रम जारी छ ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन सिकिस्त बिरामी हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी देखिएको छ । तर समग्रमा ठीक्क खालको र सिकिस्त हुनबाट रोक्न भने झण्डै ६६ प्रतिशत प्रभावकारी देखिएको छ । भ्याक्सिन लगाएको १४ दिनपछि नै सुरक्षा प्रदान गर्ने क्लीनिकल परीक्षणमा देखिएको छ ।

प्रयोगको स्वीकृति पाउनासाथ जोन्सन एण्ड जोन्सनले आगामी सातादेखि नै २ मिलियन डोज डेलिभर गर्नेछ भने २० मिलियन डोज भ्याक्सिन मार्चमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

अमेरिकामा अब मार्चभरमा २४० मिलियन डोज भ्याक्सिन डेलिभर हुने भएको छ । जुन अमेरिकाको झण्डै ४० प्रतिशत जनसंख्यालाई लगाउन प्रयाप्त हुनेछ । भ्याक्सिन उत्पादक कम्पनीहरु मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सनले मंगलबार प्रतिनिधिसभाको समितिमा यस्तो प्रतिबद्धता जनाएका थिए ।

न्युजर्सीमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै डाक्टर विष्णुमाया परियार ।

फाइजर र मोडेर्नाले मार्चको अन्तिमसम्म कुल २२० मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकामा चौथो कोरोनाबिरुद्धको भ्याक्सिन आष्ट्राजेनेका अप्रिलमा उपलब्ध हुने अपेक्षा गरिएको छ । स्वीकृति पाउनासाथ ३० मिलियन डोज र अप्रिलको अन्तिमसम्म ५० मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने आष्ट्राजेनेकाले जनाएको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

अहिलेसम्म अमेरिकामा ६५ मिलियन भ्याक्सिनका डोजहरु डेलिभर भइसकेको छ । जसमध्ये ६५ मिलियन डोज भ्याक्सिन लगाइसकिएको छ । ४४ मिलियनभन्दा धेरैले डोज भ्याक्सिन लगाइसकेका छन् । जसमध्ये दुबै डोज पाउनेहरु २० मिलियनको नजिक छन् ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।