राहत चेक र अतिरिक्त बेरोजगारी विमा रकम समेटिएको बिल भोलि बजेट कमिटिबाट अन्तिम ‘टचअप’

प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार

१४ सयको राहत चेक र काम गुमाएकालाई बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ४ सय डलर लगायतका राहतहरु समेटिएको बिललाई भोलि सोमबार प्रतिनिधिसभाको बजेट कमिटिले एकीकृत र व्यवस्थीत गरेर संसदमा मतदानका लागि पेश गर्नका लागि तयार पार्ने भएको छ । बजेट कमिटिले भोलि दिउसो १ बजे बस्ने भर्चुअल बैठकबाट बिललाई फाइनल टचअप दिने भएको छ ।

भोलिको काम बजेट प्रकृयाबाट बिललाई अगाडि बढाउनका लागि अन्तिम मुख्य प्रकृया हो । तर प्रतिनिधिसभाबाट पारित भएको बिल राष्ट्रपतिको टेबुलसम्म पुग्दा भने केही संसोधन हुने देखिएको छ । किनभने सिनेटमा बिल पारित गर्दा बजेट प्रकृयाबाट पारित गर्नुपर्ने रहेकाले बिलबाट न्यूनतम ज्याला १५ डलर बनाउने, तलबी बिरामी बिदाको अवधि बढाउने लगायतका नीतिगत विषयहरु हटाउनुपर्ने अवस्था आउनसक्ने देखिएको छ ।

बिलमा प्रतिनिधिसभामा भने शुक्रबार वा शनिबार मतदान हुने अपेक्षा गरिएको छ । डेमोक्रेटिक सांसदहरु पार्टी लाइन अनुशार नै मतदानको तयारीमा रहेका छन् । त्यसैले प्रतिनिधिसभाबाट बिल पारित हुनमा कुनै समस्या हुने देखिदैन । त्यसपछि अर्कोसाता बिल मतदानका लागि सिनेटमा लगिनेछ । मार्च १४ अगाडि नै बिल राष्ट्रपति जो बाइडेनको टेबुलमा पुग्ने र हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

प्रतिनिधिसभामा डेमोक्रेटिक सांसदहरुले राहत चेक, काम गुमाएकालाई बेरोजगारी विमाका अतिरिक्त रकम र महामारीमा संघर्ष गरिरहेका साना व्यवसायलाई अतिरिक्त रकम सहितको राहत बिलको पूर्ण पाठ शुक्रबार नै सार्वजनिक गरेका थिए । सोमबार प्रतिनिधिसभाको बजेट कमिटिले १ दशमलव ९ ट्रिलियनको राहत बिलको भाग संसोधन नगरी प्रतिनिधिसभाका ९ वटा कमिटिबाट आएका भागहरुलाई एकीकृत गर्नेछ ।

रिपब्लिकन नेताहरुले बिलले धेरै रकम छुट्याएको भन्दै यो बिलको बिरुद्ध आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्न सुरु गरिसकेका छन् । यो बिलले राष्ट्रपति जो बाइडेनको महामारी उद्दार योजनालाई नजिकबाट समेटेको छ भने विद्यालयहरु, भ्याक्सिन वितरण र राज्य तथा स्थानीय सरकारलाई धेरै रकम उपलब्ध गराउनेछ ।

सिनेटमा बजेट प्रकृयाबाट बिल पारित गर्नका लागि डेमोक्र्याट्सको ५० भोट नै प्रयाप्त हुनेछ । पचास पचास भोट खसेमा उपराष्ट्रपति कमला ह्यारिसले ट्राइब्रेक गर्नेछिन् ।

हाउस स्पीकर न्यान्सी पेलोसीले मार्च १४ अगाडि नै बिल राष्ट्रपतिको टेबुलमा पुग्ने अपेक्षा गरेकी छिन् । मार्च १४ पछि कैयन राहतहरुको म्याद सकिने भएकाले यो बिल त्योभन्दा अगाडि नै पारित गर्ने प्रयास गरिने भएको छ ।

बिलमा हरेक व्यक्तिलाई १४ सय डलर प्रदान गरिने उल्लेख छ । ४ जनाको परिवार भएको खण्डमा उनीहरुले ५६०० सय प्राप्त गर्नेछन् । बार्षिक आम्दानी ७५ हजार डलर भन्दा कम रहेका व्यक्ति र एकलाख ५० हजार डलरभन्दा कम रहेका दम्पत्तिले पूर्णरुपमा राहत चेक पाउनेछन् । सन् २०१९ को वा २०२० को आम्दानीका आधारमा हिसाब गरिनेछ ।

अहिले बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान भइरहेकोमा यो बिलले अगस्त २९ सम्म अतिरिक्त साप्ताहिक ४ सय डलर प्रदान गर्नेछ । महामारी सहायता कार्यक्रम पीयुए ५० हप्ताबाट ७४ हप्तासम्म लम्बिनेछ भने महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति २४ हप्ताबाट ४८ हप्ता लम्बिनेछ ।

फुड स्ट्याम्पमा सेप्टेम्बरसम्म १५ प्रतिशत बृद्धि हुनेछ । महिला र बालबालिकाहरुका लागि पोषण कार्यक्रमका लागि ८ सय ८० मिलियन डलर खर्च हुनेछ । चाइल्ड ट्याक्स क्रेडिट पनि ६ बर्षभन्दा कम उमेरकाहरुका लागि ३६ सय डलर र ६ देखि १८ बर्षसम्मकाहरुका लागि ३ हजार डलर हुनेगरी बृद्धि हुनेछ ।

 

 

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com