कोलोराडोमा २४१ यात्रुसहितको विमानको इन्जिन बिष्फोट हुँदापनि पाइलटले यसरी गराए सकुशल अवतरण


प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार

शनिबार कोलोराडोमा भयानक विमान दुर्घटना हुनबाट बच्यो । डेनभर इन्टरनेशनल एयरपोर्टबाट २४१ जना यात्रु सहित होनोलुलुका लागि उडेको विमानको अचानक इन्जिनमा बिष्फोट भयो ।

उडेको २० मिनेटमा नै इन्जिन पड्कीएर टुक्राहरु आकाशबाट जमिनमा खस्न थाले । युनाइटेड एयरलाइन्सको उडान ३२८ मा रहेका कैयन यात्रुहरुले विमानका टुक्राहरु जमिनतिर खसेको र आगोको झिल्काहरु देखे । विमानमा कोलाहल मच्चियो ।

कसैले आत्तिएर प्राथना गर्न थाले । कसैले नजिकै रहेका आफन्तलाई अँगालो हालेर रुन कराउन थाले । पाइलटले इमर्जेन्सी कल (मेडे कल) गरेर एयर ट्राफिक कन्ट्रोललाई जानकारी दिए ।

पाइलटले इन्जिन असफल भएको भन्दै विमान फर्काउन पर्ने जानकारी सहित एयर ट्राफिक कन्ट्रोलमा आपतकालिन सम्पर्क गरेका थिए । पाइलटले भनेका थिए – ‘युनाइटेड ३२८ ।…. भारी आपतकालिन । …..विमानको इन्जिन भर्खर फेल भयो । तत्कालै फर्काउन आवश्यक छ ।’

त्यसपछि तत्कालै विमानलाई डेनभर इन्टरनेशनल एयरपोर्टतिरै फर्काइएको थियो । पाइलटले विमान सुरक्षित तरिकाले अवतरण गराएका थिए । त्यसपछि सबै यात्रुहरुलाई उद्दार गरिएको थियो ।

विमानमा रहेका सबै सकुशल रहे । कोहीपनि घाइते समेत भएनन् । यात्रुहरुले चालकलाई सकुशल विमान फिर्ता गरेकोमा धन्यवाद दिएका छन् ।

संघीय उड्यनन प्रशासनले वक्तब्यमार्फत विमान उड्नेबित्तिकै दाहिने इन्जिन असफल भएको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । इन्जिन फेल हुनुको कारणबारे केही बताइएको छै्रन ।

१५ फिटसम्मका विमानका भग्नावशेषहरु जमिनमा सर्वसाधारणका घर र बगैचाहरुमा समेत खसेका थिए । केही भग्नावशेषहरु खेल मैदानमा समेत खसेका थिए । तर मानवीय क्षति भने हुन पाएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com