काकाकुल टेक्सास: सफा पानीको अभावमा डेढकरोड, राष्ट्रपतिबाट मुख्य प्रकोप घोषणा
प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार
खराब मौषमपछि टेक्सासको पानी वितरण प्रणालीमा समस्या भएका कारण शनिबार विहानसम्म डेढ करोड भन्दा बढी टेक्सासबासीहरु सफा खानेपानीको अभावमा परेका छन् । खराब मौषमका कारण झण्डै १३ सय पानी प्रणालीहरुमा समस्या आएको हो ।
कतिपयलाई पानी उमालेरमात्र प्रयोग गर्न चेतावनी दिइएको छ भने कतिपय स्थानमा पानी प्रयोग गर्न योग्य नरहेको जनाइएको छ । ट्क्सासका १८९ काउन्टीहरु यो समस्याबाट प्रभावित भएका छन् । खराब मौषमका कारण विद्यतु आपूर्तिमा अवरोध हुँदा अन्धकार र चिसोसँग जुधिसकेका टेक्सासबासीहरु अहिलेको पानीको समस्यासँग जुध्नुपरेको हो ।
प्रभावित टेक्सासबासी कैयन नेपालीहरु आफन्त र साथीभाईकोमा बासबस्न पुगेका छन् । कतिपय नेपालीहरु होटलहरुमा बसिरहेका छन् । केहीले जसोतसो आफ्नै घरमा समेत प्रबन्ध मिलाइरहेका छन् । साल्भेसन आर्मीले टेक्सासभर खाना र आवासीय सुविधाहरु उपलब्ध गराइरहेको छ । अमेरिकन रेडक्रसले कम्तीमा ३५ न्याना केन्द्रहरुमा कम्बल र कोटहरु उपलब्ध गराएको छ ।

पानीका पाइपहरु फुटेका कारण टेक्सासका कैयन अस्पतालहरुमा धाराको पानीको अभाव भएको छ । अहिले अधिकांश स्थानमा भने विद्युत आपूर्ति भइसकेको छ । यद्यपी शनिबार विहानसम्म ८५ हजार घरमा भने अझै विद्युत आपूर्ति हुन सकेको छैन । शनिबार भने तापक्रम केही बढेकाले थोरै भएपनि राहत मिलेको छ । शनिबार विहान ९ बजेसम्म १ करोड टेक्सासबासीहरुका लागि चिसोको चेतावनी जारी गरिएको थियो ।
राष्ट्रपति जो बाइडेनले टेक्सासमा मुख्य प्रकोपको घोषणा स्वीकृत गरिसकेका छन् । संकटकाल स्वीकृत गरिएकाले त्यस क्षेत्रका जनताले संघीय सरकारबाट पनि सहायता पाउने भएका छन् । यसअगाडि राष्ट्रपतिले संकटकालिन अवस्था स्वीकृत गरिसकेका थिए । तर अहिले मुख्य प्रकोपको घोषणापछि प्रभावितहरुले संघीय सरकारबाट अन्य मुख्य सहायताहरु पनि प्राप्त गर्नेछन् । अन्यन्तै डरलाग्दो चिसोमा अझै पनि कैयनले आवास, खाद्य र न्यानो सुविधा प्राप्त गर्न नसकेको जनाइएको छ । चिसोका कारण कैयनको ज्यान गइसकेको छ ।

टेक्सासमा हजारौं घरमा पानीका पाइप फुटेर क्षति पुगेको छ । खाना र पानी बाँड्ने स्थानहरुमा एक माइलसम्म लामा लाइनहरु रहेका छन् । सान एन्टोनियोमा आगो लाग्दा अग्नी नियन्त्रकहरुलाई हाइड्रेन्टसबाट पानी निकाल्न समेत संघर्ष गर्नुपरेको छ । यो सातामात्र चिसोसँग सम्बन्धित घटनामा कम्तीमा ४४ जनाको मृत्यु भइसकेको छ ।
टेक्सासमा खराब मौषमका कारण कम्तीमा ५० बिलियनको क्षति भएको छ । टेक्सासबाहेक लुजियाना र मिसिसिपीमा समेत लाखौंले यस्तो समस्या भोगेका छन् ।






