नेपालका बुटिक र डिलक्स होटललाई पनि ‘स्टार’ निर्धारण, निशान छाप र चिन्ह साइनबोर्डमै अनिवार्य


प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार

नेपाल सरकारले बुटिक र डिलक्स होटललाई समेत  ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी ‘स्टार’ स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न  होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन ।

विभागले सबैस्तरका रिसोर्ट, ‘स्टार’ स्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा सङ्केत चिन्हको रुपमा ‘स्टार’ चिन्ह निर्धारण गरेको छ । होटल एशोसिएसन अफ नेपाल हान का प्रथम उपाध्यक्ष विनायक शाहले ‘स्टार’  होटलसम्बन्धी नयाँ मापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढङ्गले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने जानकारी दिए ।

विभागका अनुसार सबै तहका होटल तथा रिर्सोटले आफ्नो पहिचान दिने सङ्केत चिन्ह अनुसारको साइनबोर्ड होटलको गेटमै राख्नु पर्नेछ । यसबाहेक हानसँग सम्बन्धित संघ संस्थामध्ये आफु कुन सङ्घमा आवद्ध भएको हो, आवद्धता रहेको सङ्घको समेत चिन्ह बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको छ ।

वर्गीकरण अनुसार वान स्टार देखि फाइभ स्टार होटलको सङ्केत चिन्ह क्रमशः वान स्टार देखि फाइभ स्टारसम्म हुनेछ भने फाइभ स्टार डिलक्स होटलका लागि फाइभ स्टार र डिलक्क शब्द राख्नु पर्नेछ । त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर थ्री स्टार हुनेछ । जसको सङ्केत चिन्हमा ‘थ्री स्टार र स्टाण्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ ।

डिलक्स हेरिटेज बुटिक होटलका लागि ‘फोर स्टार र डिलक्ज हेरिटेज बुटिक’ शब्दले सङ्केत गरिने भएको छ । लक्जरी हेरिटेज बुटिक होेटलका लागि ‘फाइभ स्टार र लक्जरी हेरिटेज बुटिक’ शब्द राखिने भएको छ । रिर्सोटतर्फ साधारण रिर्सोटले थ्री स्टार स्तरको मान्यता पाएको छ ।

यस्तो रिर्सोटले थ्री स्टार  र स्टाण्डर्ड रिर्सोट शब्द लेखेको सङ्केत चिन्ह पाएको छ ।डिलक्स रिर्सोटले फोर स्टार र लक्जरी रिर्सोटले फाइभ स्टार र लक्जरी रिर्सोट शब्द राखेर आफ्नो रिर्सोटको पहिचान जनाउन सक्ने गरी निर्णय भएको छ । पर्यटक स्तरका होटेलको सङ्केत चिन्ह ‘टीएस’ हुनेछ ।

पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटेलको स्तर वर्गिकरण भएका र अहिले प्रदेश सरकारको निकायबाट यस स्तरको होटेलमा वर्गिकरण भएका सबै होटलले गोलाकार भित्र रातो रङगमा टीएस लेखेको चिन्हलाई होटलको सङ्केत चिन्हका रुपमा प्रयोग गर्नुवपर्ने विभागले जनाएको छ ।

मोटलका लागि विभागले ‘एम’सङकेत चिन्ह दिएको छ । गोलाकार रेखा भित्र रातो रङगमा ‘एम’ लेखिएको चिन्ह निर्धारण गरिएको छ । साविकमा पर्यटन विभाग र मातहतका कार्यालयमा दर्ता भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटलले यो चिन्ह प्रयोग गर्नुपर्नेछ ।

पर्यटक इन’ स्तरमा वर्गिकरण भई सञ्चालनमा रहेका होटलले भने ‘आइ’ सङ्केत चिन्ह प्रयोग गर्नुपर्नेछ । बेड एण्ड ब्रेक फास्टका रुपमा दर्ता भएका होटेलहरुको सङ्केत चिन्ह गोलाकार घेरा भित्र रातो रङ्गमा ‘बीएण्डबी’ लेखिएको चिन्हलाई सङ्केत चिन्हका रुपमा निर्धारण गरिएको छ ।

सबै स्तरका रिर्सोट, स्टार स्तरका होटेल, सबै स्तरका बुटिक होटेलररिर्सोटले प्रवेशद्धारमा सबैले देख्ने गरी साइनबोर्ड राख्नु पर्ने विभागले जनाएको छ । साइनबोर्ड भने सम्बन्धित स्थानीय तहले तोकेको आकार र बनोट अनुसार छनोट गर्न सकिनेछ । यसरी रहने साइनबोर्डको समेत मापदण्ड तोकिएको छ । साइनबोर्डको माथिल्लो भागमा नेपालको रङ्गीन निशान छाप राख्नु पर्नेभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com