१४ सयको राहत चेक र काम गुमाएकालाई साप्ताहिक ४ सय समेटिएको बिल आज सार्वजनिक
प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार
प्रतिनिधिसभामा डेमोक्रेटिक सांसदहरुले ७५ हजार भन्दा कम आम्दानी भएकाहरुलाई १४ सयको राहत चेक, काम गुमाएकालाई बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ४ सय डलर र महामारीमा संघर्ष गरिरहेका साना व्यवसायलाई अतिरिक्त रकम सहितको राहत बिलको पूर्ण पाठ सार्वजनिक गरेका छन् । १ दशमलव ९ ट्रिलियनको राहत बिललाई अगाडि बढाउनका लागि आजको महत्वपूर्ण कदम हो ।
संसदका कम्तीमा ९ वटा कमिटिबाट पारित मापदण्डका आधारमा यो बिल तयार पारिएको हो । प्रतिनिधिसभाको बजेट कमिटिको प्यानलले सोमबार यो बिल स्वीकार गर्ने अपेक्षा गरिएको छ । आगामी साता यो बिल प्रतिनिधिसभामाबाट पारित हुने अपेक्षा गरिएको छ । बिल पारित गराउनका लागि डेमोक्रेटिक सांसदहरुको झिनो बहुमत रहेको छ ।

५९१ पृष्ठ लामो बिलको पूर्ण पाठ यहाँ पढ्नुहोला ।
रिपब्लिकन नेताहरुले बिलले धेरै रकम छुट्याएको भन्दै यो बिलको बिरुद्ध आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्न सुरु गरिसकेका छन् । यो बिलले राष्ट्रपति जो बाइडेनको महामारी उद्दार योजनालाई नजिकबाट समेटेको छ भने विद्यालयहरु, भ्याक्सिन वितरण र राज्य तथा स्थानीय सरकारलाई धेरै रकम उपलब्ध गराउनेछ ।
प्रतिनिधिसभाबाट यो बिल पारित भएपछि सिनेटमा जानेछ । सिनेटमा डेमोक्र्याट्को झिनो बहुमतमात्र रहेकाले रिपब्लिकनको समर्थनविना बजेट प्रकृयाबाट बिल पारित गर्नका लागि केही संसोधन हुनसक्ने अपेक्षा गरिएको छ । बजेट प्रकृयाबाट बिल पारित गर्नका लागि डेमोक्र्याट्सको ५० भोट नै प्रयाप्त हुनेछ । पचास पचास भोट खसेमा उपराष्ट्रपति कमला ह्यारिसले ट्राइब्रेक गर्नेछिन् ।
हाउस स्पीकर न्यान्सी पेलोसीले मार्च १४ अगाडि नै बिल राष्ट्रपतिको टेबुलमा पुग्ने अपेक्षा गरेकी छिन् । मार्च १४ पछि कैयन राहतहरुको म्याद सकिने भएकाले यो बिल त्योभन्दा अगाडि नै पारित गर्ने प्रयास गरिने भएको छ ।

बिलमा हरेक व्यक्तिलाई १४ सय डलर प्रदान गरिने उल्लेख छ । ४ जनाको परिवार भएको खण्डमा उनीहरुले ५६०० सय प्राप्त गर्नेछन् । बार्षिक आम्दानी ७५ हजार डलर भन्दा कम रहेका व्यक्ति र एकलाख ५० हजार डलरभन्दा कम रहेका दम्पत्तिले पूर्णरुपमा राहत चेक पाउनेछन् । सन् २०१९ को वा २०२० को आम्दानीका आधारमा हिसाब गरिनेछ ।

अहिले बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान भइरहेकोमा यो बिलले अगस्त २९ सम्म अतिरिक्त साप्ताहिक ४ सय डलर प्रदान गर्नेछ । महामारी सहायता कार्यक्रम पीयुए ५० हप्ताबाट ७४ हप्तासम्म लम्बिनेछ भने महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति २४ हप्ताबाट ४८ हप्ता लम्बिनेछ ।
फुड स्ट्याम्पमा सेप्टेम्बरसम्म १५ प्रतिशत बृद्धि हुनेछ । महिला र बालबालिकाहरुका लागि पोषण कार्यक्रमका लागि ८ सय ८० मिलियन डलर खर्च हुनेछ । चाइल्ड ट्याक्स क्रेडिट पनि ६ बर्षभन्दा कम उमेरकाहरुका लागि ३६ सय डलर र ६ देखि १८ बर्षसम्मकाहरुका लागि ३ हजार डलर हुनेगरी बृद्धि हुनेछ ।






