११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल संसदमा सार्वजनिक

प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार

न्युजर्सीका डेमोक्रेटिक सिनेटर रोबर्ट मेनेन्डेज र क्यालिफोर्नियाबाट डेमोक्रेटिक प्रतिनिधिसभा सदस्य लिण्डा सान्चेजले  ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने खाकासहितको बृहत अध्यागमन बिल सार्वजनिक गरेका छन् । यसअगाडि राष्ट्रपति जो बाइडेनले सपथग्रहण गरेकै दिन बिलको रुपरेखामात्र सार्वजनिक भएको थियो ।

न्युजर्सीका डेमोक्रेटिक सिनेटर रोबर्ट मेनेन्डेज र क्यालिफोर्नियाबाट डेमोक्रेटिक प्रतिनिधिसभा सदस्य लिण्डा सान्चेज

अमेरिकी नागरिकता ऐन २०२१ नाम दिइएको उक्त बिलमा ११ मिलियन कागपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषय समावेश छ ।

सिनेटबाट बिल पारित गर्नका लागि फिलिबस्टर मतको आवश्यकता पर्ने भएकाले कम्तीमा १० रिपब्लिकन सिनेटरहरुले साथ दिन जरुरी छ । प्रतिनिधिसभामा पनि डेमोक्र्याट्सको झिनोमात्र बहुमत छ ।

बिलमा के छ ?

बिलमा जनवरी १, २०२१ सम्म अमेरिकामा रहेका कागजपत्रविहिन आप्रवासीहरु यो बाटोबाट ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुने उल्लेख छ । त्यस्तै आप्रवासीलाई सम्बोधन गर्ने एलियन शब्दलाई हटाएर गैर नागरिक शब्द राखिएको छ ।

डाका र टीपीएसले समेटेकाहरु तथा कृषि कामदारहरु अन्य मापदण्ड पूरा गरेको खण्डमा तत्कालै ग्रिनकार्डका लागि योग्य हुनसक्नेछन् । अरुका लागि ग्रिनकार्ड प्राप्त गर्न ५ बर्ष अस्थायी स्टाटसमा बस्नुपर्ने हुनसक्छ ।

 

नागरिकता पाउन ८ बर्ष

बिलको केन्द्रमा रहेको मुख्य लाखौं कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने नै हो । त्यसका लागि ८ बर्षको बाटो बनाइनेछ । अर्थात् उनीहरुले नागरिकता प्राप्त गर्न ८ बर्ष लाग्नसक्छ ।

कृषि कामदार, डाका र टीपीएसले समेटेकाहरुले तत्काल ग्रिनकार्डका लागि आवेदन दिनसक्ने र ग्रिनकार्ड पाएको ५ बर्षमा नागरिकता आवेदन दिनसक्ने भएपनि अन्यका लागि भने ८ बर्षको बाटो हुनेछ ।

योग्य आवेदकले सुरुमा ५ बर्षको अस्थायी स्टाटस प्राप्त गर्नेछन् । त्यसका लागि कर तिरेको, अपराध नगरेको लगायतका मापदण्डहरु पूरा गर्नुपर्नेछ ।

 

योग्य कागजपत्रविहिनहरुले ५ बर्षपछि अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नेछन् । सामान्यतया अरु व्यक्तिले ग्रिनकार्ड प्राप्त भएको ५ बर्षमा अमेरिकी नागरिकताका लागि आवेदन दिन योग्य हुने भएपनि प्याकेजले समेटेकाहरु भने ३ बर्षमा नै नागरिकताका लागि आवेदन दिन योग्य हुनेछन् । यसरी ग्रिनकार्ड हुँदै नागरिकता प्राप्त गर्दासम्म ८ बर्ष लाग्न सक्नेछ ।

को को योग्य हुनेछन्?

बिल अनुशार बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कामदारहरु यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनसक्ने छन् ।

जनवरी १ सम्म अमेरिकामा आइसकेकाहरुलाई बिलले समेटेको छ ।

फोटो: अधिकार

निश्चित अवधिभन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनहरु पनि यो बिल अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् । त्यसो भएमा जनवरी १ भन्दा अगाडि अमेरिका आएका एसाइलम पेन्डिंग रहेका लगायत सबै कागजपत्रविहिनहरु ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् ।

बिल पारित भएमा अमेरिकाको इतिहासमा सन् १९८६ यताकै बृहत प्याकेज हुनेछ । सन् १९८६ मा राष्ट्रपति रोनाल्ड रेगनका पालामा अध्यागमन सुधार तथा नियन्त्रण ऐन १९८६ ल्याइएको थियो । उक्त बिलले ३० लाख कागजपत्रविहिनलाई वैद्य स्टाटस प्रदान गरेको थियो ।

को हुन् ११ दशमलव ९ मिलियन कागजपत्रविहिन?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१८ को डिसेम्बरमा निकालेको एउटा तथ्यांक अनुशार अमेरिकामा सन् २०१५ को जनवरी १ अगाडि अमेरिका आएका ११ दशमलव ९६ मिलियन कागजपत्रविहिनहरु रहेका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक सन् २०१५ पछाडिको सार्वजनिक भएको छैन ।

झण्डै ११ मिलियन कागजपत्रविहिनहरुमध्ये झण्डै ५ मिलियन मेक्सिकनहरु रहेका छन् । झण्डै २ मिलियन मध्य अमेरिकनहरु रहेका छन् भने झण्डै डेढ मिलियन एसियनहरु रहेका छन् । कागजपत्रविहिन ११ मिलियनमध्ये झण्डै दुई तिहाई १० बर्षभन्दा बढी अमेरिकामा बस्दै आएकाहरु छन् । ५ बर्षभन्दा कम समयदेखि अमेरिकामा बसेका कागजपत्रविहिनहरु २० प्रतिशत रहेका छन् ।

झण्डै ८ लाख कागजपत्रविहिनलाई डाकाले समेटेको छ । झण्डै ४ लाखलाई टीपीएसले समेटेको छ । डाकाले समेटेका नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् भने टीपीएसले समेटेकाहरु झण्डै ९ हजार छन् । अध्यागमन अदालतमा एसाइलम पेन्डिंग रहेका नेपालीहरु झण्डै ४ हजार रहेका छन् । यदि बृहत अध्यागमन बिल पारित भएमा अमेरिकामा रहेका २५ हजार भन्दा धेरै नेपालीहरु ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताका लागि योग्य हुनसक्नेछन् ।

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com