फेसबुकबाट अष्ट्रेलियामा प्रयोगकर्तालाई समाचार पढ्न र शेयर गर्न रोक
प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार
फेसबुकले अष्ट्रेलियामा रहेका प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा समाचार पढ्न र शेयर गर्न रोक लगाएको छ । गुगलले आफ्नो प्लेटफर्ममा समाचार समेट्नका लागि विशाल मिडिया कम्पनी न्यूज कर्पलाई रकम तिर्ने सहमति सार्वजनिक भए लगत्तै फेसबुकले भने अष्ट्रेलियामा फेसबुकमार्फत समाचार पढ्न र शेयर गर्न रोक लगाउने घोषणा गरेको हो ।
बिहिबार विहान अष्ट्रेलियनहरु उठ्दा स्थानीय र अन्तर्राष्ट्रिस संचारमाध्यमका पेजहरु नदेखेको बीबीसीले जनाएको छ । बिहिबार केही स्वास्थ्य, आपतकालिन र अन्य पेजहरु पनि ब्लक गरिएको थियो । तर पछि फेसबुकले गल्तीले समाचारबाहेकका पेजहरु पनि ब्लक भएको भन्दै समाचारबाहेकका अन्य पेज खुला गरेको थियो ।
फेसबुकको घोषणा अनुशार अब अष्ट्रेलियन समाचार प्रकाशकहरुले आफ्ना समाचारहरु फेसबुकमा शेयर गर्न सक्नेछैनन् । र अन्तर्राष्ट्रिय संचारमाध्यमले फेसबुकमा पोष्ट गरेका समाचारहरु पनि अष्ट्रेलियामा स्थानीय प्रयोगकर्ताले पढ्न र शेयर गर्न पाउनेछैनन् ।
फेसबुकको घोषणाको पूर्ण पाठ यहाँ पढ्नुहोला ।
अष्ट्रेलियाबाहिरका प्रयोगकर्ताले अष्ट्रेलियन प्रकाशकबाट समाचार पढ्न नपाउने र अष्ट्रेलियाभित्रका प्रयोगकर्ताले बाहिरका प्रकाशकले पोष्ट गरेका समाचार नदेख्ने जनाइएको छ ।

अष्ट्रेलियाको प्रस्तावित कानूनले फेसबुक र प्रकाशकबीचको सम्बन्धलाई अपब्याख्या गरेको फेसबुकका अष्ट्रेलिया र न्यूजील्याण्डका प्रबन्ध निर्देशक विलियम इस्टनले जनाएका छन् । आफूहरुलाई या त प्रकाशक र फेसबुकबीचको सम्बन्धलाई वेवास्ता गरेर नयाँ कानूनको पालना गर्न वा अष्ट्रेलियामा समाचार पोष्ट गर्नमा रोक लगाउनमध्ये एउटा रोज्न बाध्य पारिएको उनले बताएका छन् ।

उनले गह्रौं मनका साथ अष्ट्रेलियामा समाचार पोष्ट गर्न रोक लगाउने विकल्प रोजेको बताएका छन् । गुगल र फेसबुकले अष्ट्रेलियन प्रकाशकसँग आफै रकम तिर्ने सम्झौता गरेको खण्डमा नयाँ कानून पारित गर्नमा रोक्न सकिने अष्ट्रेलियाका सांसदहरुले बताएका छन् ।






