५० हजार ऋण मिनाहाको डेमोक्रेटिक प्रस्ताव बाइडेनबाट अस्वीकार, १० हजारसम्म मिनाहाका पक्षमा
प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार
विद्यार्थीहरुको ५० हजार डलरसम्मको ऋण मिनाहा गर्नका लागि डेमोक्रेटिक सिनेटरहरु चक शुमर र एलिजावेथ वारेनले ल्याएको प्रस्ताव राष्ट्रपति जो बाइडेनले खारेज गरेका छन् । उनले ५० हजार डलरसम्म ऋण मिनाहा गर्न नसकिने बरु १० हजार डलरसम्म ऋणमाफीका लागि आफ्नो समर्थन रहेको बताएका छन् ।
मंगलबार बेलुका सीएनएन टाउनहलमा बोल्दै बाइडेनले भने- ‘म त्यस्तो हुन दिनेछैन ।’
१० हजार डलरको ऋण माफी पनि सरकारी वा नीजि विश्वविद्यालय कस्तोमा गइरहेको छ त्यो आधारमा गर्नुपर्ने उनले बताए । हार्भड युनिभर्सिटी, यल युनिभर्सिटी, युनिभर्सिटी अफ पेन्सिलभेनिया जस्ता विश्वविद्यालयहरुमा जानेहरुका लागि ऋण मिनाहा गर्न आफू अनिच्छुक रहेको उनले बताए ।

त्यस्तै बाइडेनले बार्षिक १ लाख २५ हजार भन्दा कम आम्दानी हुनेहरुलाई निशुल्क सामुदायिक कलेजका लागि प्रस्तावका पक्षमा आफूलाई उभ्याएका छन् । सबैजना सामुदायिक कलेजमा जान सक्षम हुनुपर्ने र त्यसका लागि लाग्ने ९ बिलियन सरकारले तिर्नुपर्ने बाइडेनले बताए ।
कैयन डेमोक्र्याट्सहरुले विद्यार्थीको ऋण कटौती र मिनाहाका सन्दर्भमा आक्रामक कदम चाल्न बाइडेनलाई आग्रह गरिरहेका छन् । शुमर र वारेनले यसैमहिनाको सुरुतिर उक्त योजना अगाडि ल्याएका थिए । बाइडेनले विद्यार्थीहरुको ५० हजार डलरसम्मको ऋण मिनाहाको काम कार्यकारी आदेशमार्फत समेत गर्नसक्ने र यसले अमेरिकी अर्थतन्त्रलाई टेवा पुग्ने शुमरले बताएका थिए ।

तर बाइडेनले भने – ‘म ऋण मिनाहाका सन्दर्भमा १० हजार लेख्न तयार छु । पचास होइन । कलमले हस्ताक्षर गरेर मलाई त्यसो गर्ने अधिकार छ जस्तो मलाई लाग्दैन ।’
१० हजार डलर ऋण मिनाहाको मापदण्ड बाइडेनको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा पनि समावेश छैन । बाइडेनले शिक्षा मन्त्रालयलाई सेप्टेम्बर ३० सम्म विद्यार्थीहरुले ऋणको किस्ता तिर्न नपर्ने र त्यतीबेलाको ब्याज समेत मिनाहा गर्न निर्देशन दिएका छन् ।






