वातावरण संरक्षणका लागि गाईको सक्कली मासु खान बन्द गर्नुपर्ने बिल गेट्सको सुझाव
प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार
अर्बपति ब्यापारी तथा समाजसेवी बिल गेट्सले जलवायु परिवर्तनसँग जुध्न गाईको सक्कली मासु खान बन्द गर्नुपर्ने सुझाव दिएका छन् । त्यसका लागि धनी देशहरुले शतप्रतिशत ल्याबमा बनाएको मासु (सिन्थेटिक मासु) मात्र खान अनुमति दिनुपर्ने उनको सुझाव छ ।
ग्रिनहाउस ग्यासको उत्सर्जन कम गर्न यो विधि अपनाउनुपर्ने उनको भनाई छ । सुरुमा स्वाद केही फरक लागेपनि बानी पर्ने र सक्कली गाईको मासुको तुलनामा अझ स्वादिलो हुने उनको विश्वास छ ।
बर्गर किङ लगायतका केही रेष्टुरेण्टहरुले पहिले नै नक्कली मासु बेच्न सुरु गरिसकेको अवस्थामा बिल गेट्सको यो सुझाव आएको हो । वास्तविक गाईको मासुको साटो ल्याबमा बनाएको नक्कली मासुको सेवन वातावरण संरक्षणका लागि इलेक्ट्रिक कारको प्रयोग जस्तै भएको उनले बताए ।

जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक र पर्यावरणविद्हरूका लागि गाईले निकाल्ने ग्यास र तिनीहरूको डकार लामो समयदेखि चिन्ताको विषय रहिआएको छ।
वायुमण्डलमा हानिकारक मिथेन ग्यास अत्यधिक हुनुमा गाईभैँसीको डकार र तिनीहरूको पेटबाट निस्किने ग्यासलाई उनीहरू जिम्मेवार ठानिएको छ । मिथेन ग्यासको उत्सर्जन रोक्नका लागि गाईको सक्कली मासु खान बन्द गर्नुपर्ने बिल गेट्सले सुझाव दिएका हुन् ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको एउटा प्रतिवेदन अनुसार गाई, भैँसी, भेँडा, बाख्रा लगायतका चौपायाले दिनभरि उघ्र्याइरहन्छन् र डकारिरहन्छन्। सो क्रममा तिनीहरूको पेटबाट मिथेन ग्यास निस्किन्छ।एउटा गाईले दिनमा ५ सय लिटरसम्म मिथेन ग्यास निकाल्ने बताइन्छ ।
एउटा अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनका लागि गाडी र कलकारखानाको धूँवा जति जिम्मेवार हुन्छ त्योभन्दा बढी गाईको पेटबाट निस्किने मिथेन ग्यास जिम्मेवार हुन्छ।
उक्त प्रतिवेदनका अनुसार वायुमण्डललाई सबैभन्दा बढी खतरा गाई र भैँसीबाट छ। कारहरूबाट कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ भने गाईबाट मिथेन ग्यास।
र, कार्बन डाइअक्साइडको तुलनामा मिथेन ग्यास वायुमण्डलका लागि अझ बढी खतरनाक हुन्छ। त्यसले हरितगृह ग्यासलाई बढी मात्रामा बाँधिराख्छ, जुन विश्व तापमान वृद्धिको ठूलो कारण हो।






