न्युयोर्क सिटीको ट्रेनमा चक्कु हानेर २ जनाको हत्या र २ जनालाई घाइते बनाउने व्यक्ति पक्राउ
प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार
शुक्रबार न्युयोर्क सिटीको ट्रेनमा चक्कु हानेर २ जनाको हत्या र २ जनालाई घाइते बनाउने व्यक्तिलाई प्रहरीले रगतमै लतपतिएको अवस्थामा पक्राउ गरेको छ । उक्त व्यक्तिलाई अपर म्यानहटनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त व्यक्तिका जुत्तामा रगत लतपतिएको अवस्थामा भेटिएको थियो । साथै रगतले लतपतिएको चक्कु समेत प्रहरीले बरामद गरेको छ । उक्र व्यक्तिलाई सुरुमा वासिंटन हाइटको ३४ नम्बर चौकीमा हिराशतमा राखिएको थियो त्यसपछि अर्को हिराशतमा पठाइएको थियो ।
न्युयोर्क सिटीको ए ट्रेनभित्र पहिलो चक्कु प्रहारको घटना शुक्रबार राती साढे ११ बजेतिर भएको थियो । क्वीन्सको फार रकवेमा मोट एभिन्यु स्टेशनमा एकजना व्यक्तिलाई घाँटी र पेटमा कैयनपटक चक्कु प्रहार भएको थियो । ती व्यक्तिलाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो ।

त्यो भन्दा अगाडि शुक्रबार विहानपनि एकजनामाथि चक्कु प्रहार भएको थियो । तर ती व्यक्ति भने बाँच्न सफल भएका थिए । ६७ बर्षका ती व्यक्तिलाई घुडाँ र दायाँ नितम्बमा चक्कु प्रहार भएको थियो । १८१ स्ट्रीटमा ए ट्रेनभित्रै उक्त घटना भएको थियो ।
शुक्रबार राती साढे १ बजे वेष्ट २०७ स्ट्रीट स्टेशनमा ए ट्रेनमा एकजना महिलामाथि चक्कु प्रहार भएको थियो । ४४ बर्षकी ती महिलाको शरीरका विभिन्न भागमा चक्कु हानिएको थियो । उनलाई पनि घटनास्थलमा नै मृत घोषणा गरिएको थियो ।
लगत्तै १ बजेर २८ मिनेट जाँदा वेष्ट १८१ स्ट्रीटमा ए ट्रेनभित्र नै एकजना ४३ बर्षका व्यक्तिमाथि चक्कु प्रहार भएको थियो । ती व्यक्तिको नजिकको अस्पतालमा उपचार भइरहेको र अवस्था स्थीर रहेको प्रहरीले जनाएको छ ।
यो न्युयोर्कको ट्रेनभित्र सन् २००६ यताकै सबैभन्दा खराब चक्कु प्रहारको घटना भएको जनाइएको छ । त्यतीबेला एकजना होमलेस ट्रेनभित्र १३ घण्टाको अवधिमा हार्लम र रकफेलर सेन्टरको बीचमा ४ जनामाथि चक्कु हानेको थियो । तर सबै चारजना बाँच्न सफल भएका थिए ।






