महिला पत्रकारलाई अभद्र शब्द प्रयोग गरेका ह्वाइट हाउस डेपुटी प्रेस सेक्रेटरी डक्लोबाट राजिनामा
प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार
पत्रकारलाई धम्कीपूर्ण र अभद्र शब्द प्रयोग गरेका डेपुटी ह्वाइट हाउस प्रेस सेक्रेटरी टिजे डक्लोले राजिनामा दिएका छन् । पोलिटिको रिपोर्टर तारा पाल्मेरीलाई उनले झण्डै एकमहिना अगाडि धम्कीपूर्ण र अभद्र शब्द प्रयोग गरेका थिए ।
डक्लोले ट्वीटरमार्फत आफूले गरेको गल्तीका लागि क्षमा माग्दै राजिनामा दिएका हुन् । उनले भनेका छन् – ‘मैले गरेको व्यवहारका लागि मेरो पछुतो र लज्जा व्यक्त गर्ने कुनै शब्द नै छैन । मैले कुनै पनि महिलाले र खासगरी आफ्नो काम गर्ने प्रयास गरिरहेको अवस्थामाा कसैबाट कहिल्यै सुन्न समेत नहुने भाषा प्रयोग गरें ।’
My statement on resigning from the White House. pic.twitter.com/3Jpiiv75vB
— TJ Ducklo (@TDucklo) February 14, 2021
गतमहिना पोलिटिको रिपोर्टर तारा र डक्लोबीच भएको अफ द रेकर्ड फोनमा डक्लोले ध्वस्त पारिदिने धम्की दिएका थिए । डक्लोको एकजना पत्रकारसँगको व्यक्तिगत प्रेम सम्बन्धलाई लिएर पोलिटिकोबाट तारा पाल्मोरी र अर्का एकजना पत्रकारले डक्लोसँग सोधपुछ गरेका थिए । ह्वाइटहाउस बिटमा समाचार लेख्ने ती एक्सीयसकी रिपोर्टरसँगको डक्लोको प्रेम सम्बन्धले कन्फ्लीक्ट अफ इन्ट्रेस्ट हुनेभन्दै सोधपुछ गरिएको थियो ।
अफ द रेकर्ड कलमा डक्लोले यदि यसबारे कुनै रिपोर्ट प्रकाशित गरेमा पोलिटिको रिपोर्टर ताराको प्रतिष्ठा खत्तम पारिदिने चेतावनी दिएका थिए । आफ्नो प्रेमसम्बन्धप्रतिको ईश्र्याका कारण ताराले यसबारे समाचार प्रकाशन गर्न खोजेको डक्लोले आरोप लगाएका थिए । तर तारा पाल्मोरीलाई भने पोलिटिकोले उनको जागिरकै अंशका रुपमा उक्त विषय कभर गर्न लगाएको जनाइएको छ ।
डक्लो र तारा पाल्मोरीबीचको कुराकानीपछि पोलिटोकोका सम्पादकले नै ह्वाइटहाउसमा सम्पर्क गरेका थिए । त्यतीबेला डक्लोले क्षमा मागेको जनाइएको छ ।
डक्लोको राजिनामा स्वीकार गरिएको ह्वाइट हाउस प्र्रेस सेक्रेटरी जेन पास्कीले बताएकी छिन् । बाइडेनले पहिलो दिनमा नै कर्मचारीहरुलाई यदि कसैलाई अपमानजनक व्यवहार गरेको खण्डमा अन द स्पट बर्खास्त गर्ने चेतावनी दिएका थिए । उनले यो कुनै ठट्टा नभएको समेत स्पष्ट पारेका थिए ।






