ट्रम्पबिरुद्धको महाभियोगको टुंगो भोलि नै, १७ रिपब्लिकन सिनेटरले साथ दिए पारित हुने
प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाभियोगको टुंगो सिनेटमा भोलि नै लाग्ने भएको छ । आज महाभियोग परीक्षणको चौथो दिन ट्रम्पका वकिलहरुले तर्क पेश गर्ने कार्यक्रम छिटो सकिएको थियो । १६ घण्टाको समय दिइएपनि यो ४ घण्टामै सकिएको थियो ।
त्यसपछि आजै हाउसका महाअभियोग म्यानेजरहरु र ट्रम्पका वकिलहरुलाई सिनेटरहरुले प्रश्न सोधिसकेका छन् । यसका लागि ४ घण्टाको समय दिइएपनि तोकिएको समयभन्दा छिटो सकिएको छ । अब भोलि विहान १० बजे सुरु हुने सेसनमा २ घण्टा बहसका लागि छुट्याइनेछ ।
त्यसपछि सिनेटमा महाभियोगबारे मतदान हुने अपेक्षा गरिएको छ ।
मंगलबारदेखि सुरु भएको परीक्षणमा बुधबार र बिहिबार हाउसका डेमोक्रेटिक महाभियोग म्यानेजरहरुको आफ्ना अभियोग र तर्कहरु पेश गरेका थिए । उक्त क्रममा पहिले कहिलेपनि सार्वजनिक नभएका क्यापिटल हिल दंगाका फुटेजहरु समेत देखाइएको थियो ।

ट्रम्पबिरुद्धको महाभियोग प्रतिनिधिसभाबाट पहिले नै पारित भइसकेको छ । तर सिनेटबाट पारित हुनका लागि १७ जना रिपब्लिकन सिनेटरहरुले साथ दिन जरुरी छ । किनभने महाभियोग पारित हुनका लागि दुईतिहाई बहुमत अर्थात् कम्तीमा ६७ मत आवश्यक हुन्छ । ट्रम्पमाथि जनवरी ६ मा क्यापिटल हिलमा दंगाका लागि उक्साएको आरोप छ ।
यदि महाभियोग पारित भएमा ट्रम्पलाई अर्कोपटक चुनावमा उठ्नमा रोक लगाउने वा नलगाउने सन्दर्भमा अर्को मतदान हुनेछ । त्यसका लागि सामान्य बहुमत भए पुग्नेछ ।






