आज ट्रम्पबिरुद्धको महाभियोग परीक्षणको चौथो दिन, ट्रम्पका वकिललाई तर्क पेश गर्न १६ घण्टा
प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार
सिनेटमा आज पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाभियोग परीक्षणको चौथो दिन हो । मध्यान्हदेखि सुरु भएको परीक्षणमा आज ट्रम्पका वकिलहरुले तर्क पेश गरिरहेका छन् ।
तर्क पेश गर्नका लागि १६ घण्टाको समय दिइएको छ । ट्रम्पका वकिलहरुले उक्त समय भरपूर उपयोग गर्ने देखिएको छ । ट्रम्पका वकिल डेभिड शोहेनले आजै तर्क पेश गर्ने काम सकिने अपेक्षा गर्न नसकिने बताएका छन् । त्यसो भएमा शनिबारको केहीघण्टा पनि उनीहरुले तर्क पेश गर्नका लागि उपयोग गर्नेछन् ।
सिनेटमा हरेक दुईघण्टामा १५ मिनेट छुट्टी हुनेछ भने बेलुका ५ बजेतिर डिनरका लागि केही बेर छुट्टी हुनेछ । त्यसपछि रातीसम्म तर्कहरु पेश गर्ने क्रम चल्नेछ ।

बुधबार र बिहिबार हाउसका डेमोक्रेटिक महाभियोग म्यानेजरहरुको आफ्ना अभियोग र तर्कहरु पेश गरेका थिए । उक्त क्रममा पहिले कहिलेपनि सार्वजनिक नभएका क्यापिटल हिल दंगाका फुटेजहरु समेत देखाइएको थियो ।
शनिबार हाउसका महाअभियोग म्यानेजरहरुलाई सिनेटरहरुले ४ घण्टासम्म प्रश्नहरु सोध्न पाउनेछन् । त्यस्तै ट्रम्पका वकिलहरुलाई पनि सिनेटरहरुले प्रश्न गर्न पाउनेछन् । उक्त ४ घण्टा दुईवटा पक्षलाई बराबर बाँडिनेछ । त्यसपछि अन्तिम तर्कहरु पेश गर्नका लागि ४ घण्टाको समय दिइनेछ ।

उक्त काम शनिबार सकिएको खण्डमा शनिबार नै महाअभियोग प्रस्तावमा मतदान हुनेछ । अन्यथा आइतबार महाभियोग प्रस्तावमा मतदान हुने अपेक्षा गरिएको छ । यसरी छिटोमा शनिबार र ढिलोमा आइतबार यो प्रकृया समाप्त भएर निष्कर्ष निस्कनेछ ।
ट्रम्पबिरुद्धको महाभियोग प्रतिनिधिसभाबाट पहिले नै पारित भइसकेको छ । सिनेटमा महाभियोग पारित गर्न दुईतिहाई मत पाउने सम्भावना भने निकै कम रहेको छ । ट्रम्पमाथि जनवरी ६ मा क्यापिटल हिलमा दंगाका लागि उक्साएको आरोप छ ।





