न्युयोर्क सिटीलाई अब साप्ताहिक डेढलाख बढी भ्याक्सिन, फार्मेसीमै लगाउन पाइने
प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार
न्युयोर्क सिटीले सोमबारदेखि साप्ताहिक १ लाख ६४ हजार ६ सय २५ डोज कोरोनाबिरुद्धको भ्याक्सिन पाउने भएको छ । संघीय कार्यक्रमले न्युयोर्क सिटीका लागि साप्ताहिक २६ हजार ५ सय डोज भ्याक्सिन बढाएको हो ।
आगामी सातादेखि थप २६ हजार ५ सय डोज भ्याक्सिन सिधै फार्मेसीहरुमा पठाइने भएको छ । त्यहाँबाट ६५ बर्ष नाघेकाहरुले सहजै भ्याक्सिनका डोजहरु प्राप्त गर्न सक्नेछन् ।
आगामी साता नियमित १ लाख ३८ हजार १ सय २५ डोजका अतिरिक्त २६ हजार ५ सय डोज थपेर न्युयोर्क सिटीले १ लाख ६४ हजार ६ सय २५ डोज भ्याक्सिन पाउनेछ । ड्वेन रिड, वालग्रिन, कस्ट्को, राइट एड लगायतका फार्मेसीहरुबाट भ्याक्सिन प्राप्त गर्न सकिनेछ ।

नयाँ कार्यक्रम अन्तरगत यो सातदेखि न्युयोर्क सिटीमा थप २५० स्थानबाट भ्याक्सिन प्राप्त गर्न सकिनेछ । जसमा १८८ वटा वालग्रिन फार्मेसी, ७५ वटा राइट एड र ५ वटा कस्ट्को फार्मेसीहरु रहेका छन् । अब न्युयोर्कसिटी झण्डै ४ सय स्थानबाट भ्याक्सिन पाउन सकिने भएको छ ।
बाइडेन प्रशासनले सुरुमा देशभरका ६ हजार ५ सय धेरै फार्मेसीबाट भ्याक्सिन वितरणको योजना बनाएको छ । त्यसपछि देशभरका ४० हजार फार्मेसीमा भ्याक्सिन वितरण विस्तार गरिने जनाइएको छ ।
भ्याक्सिनमा सबै योग्यहरुको पहुँच कायम गर्नका लागि बाइडेन प्रशासनले बिहिबारदेखि अमेरिकामा फार्मेसीबाटै कोरोनाबिरुद्धको भ्याक्सिन वितरण योजना ल्याएको हो ।
योग्यहरुले देशभरका तय भएका फार्मेसीहरुबाट भ्याक्सिन प्राप्त गर्न सक्ने भएका छन् । २१ वटा राष्ट्रिय फार्मेसी पार्टनरहरु र स्वतन्त्र फार्मेसीहरुको नेटवर्कसँगको सहकार्यमा भ्याक्सिन वितरण गरिने भएको छ ।
यो कार्यक्रम अन्तरगतको पहिलो चरणमा देशभरका छानिएका फार्मेसीहरुले योग्यहरुलाई भ्याक्सिन वितरण गर्नका लागि निशुल्क तर सिमित भ्याक्सिनका शीशीहरु पाउनेछन् । सुरुको चरणमा केही फार्मेसीहरुमा भ्याक्सिन सिमित भ्याक्सिन उपलब्ध हुने भएकाले नजिकको फार्मेसीमा भ्याक्सिन उपलब्ध भए नभएको उनीहरुकै वेवसाइटमा गएर हेर्न सुझाव दिइएको छ ।






