ट्रम्पबिरुद्धको महाभियोग अगाडि बढाउन सिनेटमा ५६ मत
प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार
ट्रम्पबिरुद्धको महाभियोग अगाडि बढाउन सिनेटमा ५६ मत प्राप्त भएको छ । राष्ट्रपतिबाट हटिसकेको व्यक्तिलाई महाभियोग लगाउनु असंवैधानिक हुने ट्रम्पका वकिलहरुको तर्कलाई अस्वीकार गर्दै सिनेटमा महाभियोग अगाडि बढाउने पक्षमा मत प्राप्त भएको छ ।
अधिकांश रिपब्लिकन सिनेटरहरुले ट्रम्प र उनको कानूनी टिमलाई साथ दिएपनि केही रिपब्लिकन सांसदहरु भने महाभियोग अगाडि बढाउनुपर्ने पक्षमा देखिएका छन् । जनवरी ६ मा क्यापिटल हिलमा दंगा भड्काएको आरोपमा ट्रम्पबिरुद्ध महाभियोग अगाडि बढाइएको छ । अब महाभियोगमा सुरुवाती तर्कहरु बुधबार सुरु हुनेछ ।
त्यस्तै सिनेटले महाभियोगको परीक्षणका नियमहरु पनि तय गरिसकेको छ । नियम ८९ मतले पारित भएको छ भने ११ जना रिपब्लिकन सिनेटरहरुले नियमको विपक्षमा मतदान गरेका थिए ।

ट्रम्पबिरुद्धको महाभियोग प्रतिनिधिसभाबाट पहिले नै पारित भइसकेको छ । तर सिनेटमा महाभियोग अगाडि बढेपनि दुईतिहाई मत पाउने सम्भावना भने निकै कम रहेको छ । आज सिनेटमा क्यापिटल हिलमा दंगाको भिडियो फुटेज समेत देखाइएको थियो ।
ट्रम्पको टिमले पदमा नरहेको व्यक्तिबिरुद्ध महाभियोग अगाडि बढाउनु नै असंवैधानिक भएको तर्क गर्दै आएको थियो । ट्रम्पको मन्तब्य संविधानको पहिलो संसोधनबाट संरक्षित रहेको र ट्रम्पले हिंशा भड्काउने काम नगरेको ट्रम्पका वकिलहरुले तर्क गरेका थिए ।
महाभियोग प्रकृया अगाडि बढाउने क्रममा कोरोनाको महामारीका कारण सिनेटरहरु आफ्नो डेस्कमा बसिरहनै पर्ने नियम छैन । उनीहरुले सिनेट च्याम्बरमाथिको ग्यालरीबाट वा विशेष कक्षमा रहेको टेलिभिजनबाट समेत हेर्न सक्नेछन् ।






