भ्याक्सिन लगाउन वालग्रिन जानका लागि उबरमा निशुल्क राइड
प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार
उबरले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन वालग्रिन फार्मेसीमा जानका लागि निशुल्क राइडको व्यवस्था गर्ने भएको छ । वालग्रिन र उबरले कार नहुनेहरुका लागि भ्याक्सिन लगाउन वालग्रिनसम्म आउनका लागि सहज बनाउन यस्तो व्यवस्था गरेका हुन् ।
सेवासुविधाहरु कम प्राप्त जनसंख्या भएको क्षेत्रमा बस्ने र भ्याक्सिनका लागि अप्वाइन्टमेन्ट लिएकाहरुलाई यो सुविधा उपलब्ध गराउने उबरले घोषणा गरेको छ । कस्तो व्यक्तिलाई निशुल्क राइडको आवश्यकता पर्छ भन्ने पत्ता लगाउनका लागि उबरले नेशनल अर्बन लिग जस्ता परोपकारी संस्थाहरुसँग सहकार्य गर्ने भएको छ ।

सुरुमा आगामी सातामा एटलान्टामा यस्तो निशुल्क राइडको व्यवस्था गरिनेछ । त्यसपछि विस्तारै शिकागो, एल पासो र ह्युस्टनमा पनि यो सुविधा विस्तार गरिने जनाइएको छ । उबरले १० मिलियन निशुल्क वा सस्तो राइडको व्यवस्था गर्ने घोषणा गरिसकेको छ ।
अमेरिकाको दोश्रो ठूलो फार्मेसी चेन वालग्रिनमा यसैसाताबाट भ्याक्सिन वितरण गरिने भएको छ । सरकारले तोकेका प्राथमिकतामा पर्नेहरुले भ्याक्सिन प्राप्त गर्नेछन् । शुक्रबारदेखि दुई सिटीहरु न्युयोर्क र शिकागोसहित १५ वटा राज्यहरुमा वालग्रिनबाट भ्याक्सिन वितरण गरिनेछ ।

बाइडेन प्रशासनले सुरुमा देशभरका ६ हजार ५ सय धेरै फार्मेसीबाट भ्याक्सिन वितरणको योजना बनाएको छ । त्यसपछि देशभरका ४० हजार फार्मेसीमा भ्याक्सिन वितरण विस्तार गरिने जनाइएको छ ।
भ्याक्सिनमा सबै योग्यहरुको पहुँच कायम गर्नका लागि बाइडेन प्रशासनले बिहिबारदेखि अमेरिकामा फार्मेसीबाटै कोरोनाबिरुद्धको भ्याक्सिन वितरण योजना ल्याएको हो ।
योग्यहरुले देशभरका तय भएका फार्मेसीहरुबाट भ्याक्सिन प्राप्त गर्न सक्ने भएका छन् । २१ वटा राष्ट्रिय फार्मेसी पार्टनरहरु र स्वतन्त्र फार्मेसीहरुको नेटवर्कसँगको सहकार्यमा भ्याक्सिन वितरण गरिने भएको छ ।
यो कार्यक्रम अन्तरगतको पहिलो चरणमा देशभरका छानिएका फार्मेसीहरुले योग्यहरुलाई भ्याक्सिन वितरण गर्नका लागि निशुल्क तर सिमित भ्याक्सिनका शीशीहरु पाउनेछन् । सुरुको चरणमा केही फार्मेसीहरुमा भ्याक्सिन सिमित भ्याक्सिन उपलब्ध हुने भएकाले नजिकको फार्मेसीमा भ्याक्सिन उपलब्ध भए नभएको उनीहरुकै वेवसाइटमा गएर हेर्न सुझाव दिइएको छ ।
भ्याक्सिनका लागि छनौट भएका फार्मेसी नेटवर्कहरुमा वालग्रिन, सीभीएस, वालमार्ट, राइट एड, कोस्ट्को लगायत रहेका छन् ।






