जेलमा अगार्निक खाना नपाएपछि क्यापिटल हिलका दंगाकारी एकसातादेखि भोकै, २० पाउण्ड तौल घट्यो
प्रकाशित मिति : माघ २१, २०७७ बुधबार
राँगाको जस्तो सिंग भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने व्यक्तिले हिराशतमा एकसातादेखि केही नखाँदा २० पाउण्ड तौल घटेको अदालतमा पेश गरिएको कागजातमा जनाइएको छ । आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअननका प्रमुख अनुयायी ज्याकोब एन्थोनी चान्सले आफूले अर्गानिकमात्र खाने भन्दै वासिंटन डिसीको जेलमा अन्य खानाखान अस्वीकार गरेको जनाइएको छ ।
वासिंटन डिसीको जेलमा ल्याएयता उनले अर्गानिक खाना नपाएपछि अन्य कुनै खाना नखाएको जनाइएको छ । उनलाई उक्त जेलमा सारिएको एकसाता नाघेको छ । ज्याक एन्जेलीका रुपमा चिनिदै आएको छ । उनले आफूलाई क्युअनन जादूगरका रुपमा चिनाउदै आएका छन् ।उनले जनवरी ६ मा र अनुहार पेन्ट गरेर राँगाको जस्तो सिंग भएको भुत्ले टोपीसहित अनाधिकृत रुपमा संसद भवनमा हुलदंगा गरेका थिए ।
आफ्नो धार्मिक विश्वासका कारण उनले अर्गानिक बाहेक अन्य खाना नखाने उनका वकिलले अदालतमा पेश गरेको कागजातमा उल्लेख छ । उनका वकिलले या त ज्याक एन्जेलीलाई उपयुक्त खानपानको व्यवस्था गर्न या त अदालती परीक्षण अगाडि नै उनलाई रिहा गर्न माग गरेका छन् । अर्गानिक बाहेकको अन्य खानामा अप्राकृतिक रसायनहरु हुने र उनले यदि त्यस्ता खाना खाएमा गम्भिर बिरामी पर्ने उनको धार्मिक विश्वास रहेको छ ।
उनीहरुको परम्परा र धार्मिक विश्वास अनुशार शरीर, मष्तिष्क र आत्मा अन्तरसम्बन्धित हुने र आफ्नो आस्थाको अभ्यास गर्न उनलाई तीनवटै कुराहरु स्वस्थ्य हुनुपर्ने अदालतको कागजातमा वकिलले दावी गरेका छन् । उनले विगत ८ बर्षदेखि अर्गानिक खानामात्र खाँदै आएको र जेलमा अर्गानिक खाना नपाएका कारण जनवरी २५ देखि केही नखाएको जनाइएको छ ।
ज्याक एन्जेली प्रमुख अनुयायी रहेको इन्टरनेटको आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअनन गत अगस्तमा अमेरिकन मुलधारमा आएको थियो । इन्टरनेट समुदायभित्र यो आन्दोलन बर्षौदेखि रहदै आएको थियो भने सामाजिक अस्थीरता र कोरोनाको महामारीका बीच यो चर्चामा आएको थियो ।
उनी भाला बोकेर त्यहाँ छिरेको र भालाको धारमुनी अमेरिकन झण्डा लगाएको वासिंटन डिसीका संघीय एटोर्नीले जनाएका छन् । अमेरिकामा क्युअननका समर्थकहरु झण्डै एकलाख भएको अनुमान गरिएको छ । जनवरी ६ को दंगामा उनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
के हो क्युअनन ?
क्युअनन सिद्धान्तले अमेरिकाका शक्तिशाली व्यक्तिले बालबालिकाहरुलाई उनीहरुको रगत वा यौनशोषणका लागि बन्धक बनाएको कुरा शशक्त ढंगले विश्वास गर्छ । त्यसबिरुद्धको कारवाहीलाई नैतिक आवश्यकता ठान्दछ । एफबीआईले यो आन्दोलनलाई घरेलु आतंकको जोखिमका रुपमा हेरेको छ ।
यो सिद्धान्तले सरकार, मिडिया र ब्यापारका क्षेत्रमा रहेका समृद्ध व्यक्तिहरु जसले बालबालिकाहरुलाई यौन शोषणका लागि बन्धक बनाउनुका साथै उनीहरुको रगतले शैतानको पूजा गर्दै आएको र उनीहरुकाबिरुद्ध ट्रम्पले गोप्य युद्ध सुरुवात गरेको विश्वास गर्छ । जुन सिद्धान्त आधारहीन र अविश्वसनीय रहेको छ ।
यो लडाईले राष्ट्रपति उम्मेदबार हिलारी क्लिन्टन लगायतका चर्चित व्यक्तिहरुलाई पक्राउ गरेर मारिने दिन निम्त्याउने क्युअननका अनुयायीहरु विश्वास गर्छन् । सन् २०१७ को अक्टोबरमा एकजना अज्ञात व्यक्तिले श्रृंखलाबद्ध पोष्टहरु गरेपछि यसको सुरुवात भएको थियो ।
सामाजिक सञ्जालहरुले यस्तो षड्यन्त्रको सिद्धान्तलाई निरुत्साहन गर्दै आएका छन् भने ठूला सामाजिक सञ्जालहरुले यसबारेका सामाग्रीहरुलाई नियन्त्रण गर्नुका साथै उक्त आन्दोलनलाई समर्थन गर्ने सामाग्री र भिडियोहरु समेत हटाएका छन् ।






