कम आम्दानी हुनेहरुलाईमात्र १४ सयको राहत चेक पठाउनेमा बाइडेन खुला
प्रकाशित मिति : माघ २१, २०७७ बुधबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले कम आम्दानी हुनेहरुलाईमात्र १४ सय डलरको राहत पठाउनेमा आफू खुला रहेको बताएका छन् । रिपब्लिकनहरुले ४० हजारभन्दा कम आम्दानी भएकाहरुलाईमात्र राहत चेक पठाउनुपर्ने प्रस्ताव ल्याइरहँदा बाइडेनले डेमोक्रेटिक सांसदसँगको कुराकानीमा कम आम्दानी हुनेहरुलाई राहत चेक पठाउने विषयमा सम्झौता गर्न तयार रहेको बताएका हुन् ।
चेकको रकम १४ सय भन्दा कम गर्नेमा भने बाइडेन सहमत छैनन् । पहिले नै यो रकमका लागि प्रतिज्ञा गरेकाले रकम कम गर्न नहुने उनको भनाई छ । तर १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज कम गर्नमा पनि बाइडेन खुला देखिएको जनाइएको छ ।

राजनीतिक दलका नेताहरुले आवश्यक नभएकाहरुलाई पनि राहत चेक गएको विषयमा प्रश्न उठाएपछि आम्दानीको थ्रेसहोल्ड कम गर्ने विषयमा छलफल भइरहेको छ । तर कति थ्रेसहोल्ड कायम गर्ने भन्ने सन्दर्भ छलफलकै क्रममा रहेको र निचोडमा नपुगेको ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन पास्कीको भनाई छ ।
विगतका राहत चेकहरु ७५ हजारभन्दा कम आम्दानी भएकाहरुलाई पूर्णरुपमा प्रदान गरिएको थियो । रिपब्लिकनले सार्वजनिक गरेको राहत प्याकेज प्रस्तावमा ४० हजारभन्दा कम आम्दानी भएका एकल र ८० हजारभन्दा कम आम्दानी भएका जोडीलाई राहत चेक पूर्णरुपमा उपलब्ध गराउने उल्लेख छ ।
अझै पनि राहत प्याकेजका सन्दर्भमा दुईदलीय सहमति कायम गर्नका लागि प्रयासहरु भइरहेका छन् । तर डेमोक्र्याट्सहरुले रिपब्लिकनको सहमति विना नै बजेट प्रकृयाबाट राहत प्याकेज पारित गर्नका लागि प्रकृया अगाडि बढाइसकेका छन् भने संकल्प प्रस्ताव समेत पारित भइसकेको छ ।






