नेपालको पहिलो महिला बक्सिङ खेलाडी सोनी डंगोलको न्युयोर्कमा कोरोना संक्रमणबाट निधन


प्रकाशित मिति : माघ २१, २०७७ बुधबार

न्युयोर्कमा कोरोना संक्रमणबाट नेपाली महिला बक्सिङ खेलाडी सोनी डंगोलको निधन भएको छ । डंगोलको आजै न्युयोर्कको जमैकामा रहेको अस्पतालमा निधन भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिनुभयो ।

झण्डै एकसाता अगाडि स्वासप्रश्वासमा समस्या भएपछि डंगोललाई अस्पतालमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा छोरीबाहेक सबैलाई कोरोना संक्रमण पुष्टी भएको थियो । एकसातादेखि उपचार भइरहेकोमा आज निधन भएको जनाइएको छ ।

४५ बर्षीया डंगोल अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि नेपालको पहिलो महिला बक्सरमात्र नभई साफ मुलुककै पहिलो महिला बक्सर रहेको जनाइएको छ । न्युयोर्कको जमैकामा पति विजय डंगोलसहित सपरिवार बस्दै आउनुभएकी डंगोलले न्युयोर्कको ब्रुकलिनमा आफ्नै शैलुन चलाउँदै आउनुभएको थियो । उहाँहरु गतबर्षमात्र जमैकामा घर किनेर सर्नुभएको थियो ।

फेब्रुअरी ८ सोमबार न्युयोर्कको क्वीन्स कोरोनामा रहेको कोपोला मियोरें फ्युनरल चापलमा दाहसंस्कारको कार्यक्रम रहेको र विहान १० बजदेखि १२ बजेर ४५ मिनेटसम्म त्यहाँ उपस्थीत भएर श्रद्धाञ्जली व्यक्त गर्न सकिने व्यवसायी प्रदीप श्रेष्ठले जानकारी दिनुभयो । तर कोरोनाको महामारीका कारण सामाजिक दूरी कायम गर्ने लगायतका नियमका कारण एकपटकमा २५ जनालाईमात्र अनुमति दिइएको छ ।

श्रेष्ठले मृतक डंगोलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

श्रेष्ठले सामाजिक सञ्जालमा भन्नुभएको छ – ‘जमैका न्युयोर्क निवासी दाजु विजय डंगोलको श्रीमती सोनी डंगोल भाउजुको कोरोना संक्रमणको कारण आज क्वीन्सको जमैका हस्पिटलमा निधन भएको छ । भाउजुको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै परिवारका सदस्यहरुको पनि शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

न्युयोर्कमा कोरोना संक्रमणबाट गत मार्च र अप्रिलमा कैयन नेपालीहरुका ज्यान गएका खबर आएपनि पछिल्लो दिनमा भने कोहीपनि सिकिस्त भएको खबर आएको थिएन । पछिल्लो समयमा न्युयोर्कमा रहेका नेपालीहरुमा कोरोना संक्रमण भएका खबर भने उल्लेख्य रुपमा आइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com