फ्लोरिडामा गोली चल्दा २ जना एफबीआई एजेण्टको मृत्यु, तीन घाइते
प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार
फ्लोरिडामा गोली चल्दा २ जना एफबीआई एजेण्टको मृत्यु भएको छ भने अरु तीनजना घाइते भएका छन् । फोर्ट लाउडरडेलको पश्चिममा रहेको सनराइजमा अभियुक्तबिरुद्धको वारेन्ट लिएर गएका उनीहरुमाथि गोली चलाइएको हो ।
मंगलबार विहान ६ बजेपछि घटना भएको थियो । एफबीआईएका एजेण्टहरु एउटा अपार्टमेन्ट कम्प्लेक्समा चढ्दै गर्दा गोली चलेको जनाइएको छ । उनीहरु बालबालिकाबिरुद्धको अपराधको एउटा मुद्दाको वारेन्ट लिएर गएका थिए ।
गोलीकाण्डपछि कम्प्लेक्समा एकजना व्यक्तिले आफूलाई भित्र थुनेको थियो र पछि त्यो व्यक्ति मृत भेटिएको थियो । उक्त व्यक्तिको मृत्यु कसरी भयो भन्नेबारे केही खुलेको छैन । मृत्यु हुने एफबीआई एजेण्टहरुको नाम डानियल अल्फिन र लोरा स्वार्जेनबर्जर रहेको बताइएको छ ।

घाइते तीनजनामध्ये दुईजना एजेण्टहरुलाई अस्पतालमा लगिएको छ । तेश्रो एजेण्टलाई अस्पताल लैजान आवश्यक नभएको र सामान्य घाइेत भएको जनाइएको छ । घटनास्थलमा प्रहरीको बाक्लो उपस्थीति भएको छ भने प्रहरीले सर्वसाधारणहरुलाई घटनास्थलमा नजान र घरमा बस्न सुझाव दिएको छ ।
ड्युटीमा रहेको बेला एफबीआई एजेण्टको हत्या भएको सन् २००८ पछि यो पहिलोपटक हो । सन् २००८ मा ३३ बर्षका एकजना एजेण्टको ड्युटीमा नै रहेको बेला हत्या भएको थियो । मंगलबारको घटनालाई एफबीआईएकै इतिहासमा सबैभन्दा खराब बताइएको छ ।
सन् १९८६ मा मायामीमा दुईजना हिंश्रक बैंक लुटेराहरुको प्रतिवादमा दुईजना एफबीआई एजेण्टको मृत्यु भएको थियो भने ५ जना एजेण्टहरु घाइते भएका थिए । घटनामा बैंक लुटेराहरु पनि मारिएका थिए ।
सन् १९९४ को नोभेम्बरमा वासिंटन डिसीमा भएको घटनामा दुईजना एफबीआई एजेण्टहरुको मृत्यु भएको थियो । उक्त घटनामा एकजना प्रहरी अधिकारी समेत मारिएका थिए ।






